२५ असार ०७७, काठमाडौं । नेपाल सरकारले भारतीय मिडियामा आएका भ्रामक समाचारको भर्त्सना गरेको छ ।
भारतीय मिडियाले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले ती मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताए ।
नेपालको प्रधानमन्त्रीको विषयमा भारतीय मिडियाले गरेको समाचार सम्प्रेषणका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफमा मन्त्री खतिवडाले यस्तो जवाफ दिएका हुन् ।
“हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पु-याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गछौं,” उनले भने, “यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानूनी दुबै उपचार खोज्नुपर्ने हुन्छ ।”
यस्तै सञ्चारमाध्यमहरु चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्ने भन्दै उनले भने, “दुर्भावना फैलाउने, चरित्रहत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ ।”
भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको थियो ।
‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्टमा चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालेको बताएको थियो ।
आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फसगए ।’