८ माघ, काठमाडौं । संविधान संशोधन भए नाका खुल्ने संकेत दिएको नेपालका लागि भारतीय राजदूत रञ्जित रायले शुक्रबार बिहान प्रधानमन्त्री केपी ओलीलाई भेटेर तीन दलसँग र मधेसी मोर्चाको वार्ता भङ्ग भएको र मोरङको रंगेली घटनालाई लिएर असन्तुष्टि जनाउँदै यही अवस्थामा नाका अवरोध नहट्ने संकेत दिएका छन् ।
स्रोतकाअनुसार मधेसी मोर्चालाई समेत विश्वासमा लिएर संविधान संशोधन विधेयक पास भए सकारात्मक रुपमा लिन्छौं भनेको भन्दै उनले सरकार एकतर्फी रुपमा अघि बढे नाका अवरोध नहट्ने संकेत दिए ।
बिहीबार बालुवाटारमा भएको कार्यदल स्तरीय वार्ता सहमति नजिक पुगेपछि प्रधानमन्त्री ओलीले संशोधन जस्ताको तस्तै पास गर्ने सहमति भइसकेको भन्दै जङ्गिएपछि वार्ता भाँडिएको थियो । साथै, दिउँसो मोरङको रंगेलीमा भएको झडपमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि उक्त घटनालाई लिएर भारतीय विदेश मन्त्रालयले चासो व्यक्त गरेकाले नाका अवरोध थप लम्बिने संकेत देखिएको छ ।
शनिबार तीन दलीय बैठक
मधेशी मोर्चासँग भएको बिहीबारको छलफलमा कडा रुपमा प्रस्तुत भएका ओली शुक्रबार भने केही लचिलो बनेका थिए ।
एमाओवादी नेताहरु पार्टीको कार्यक्रमका लागि पोखरा पुगेका कारण शुक्रबार छलफल हुन नपाएपछि शनिबार बिहान प्रमुख तीन दलको बैठक बोलाइएको छ ।