भारतीय सञ्चारकर्मीहरु तथ्यहीन, आधारहीन विषयलाई उछाल्दै छन् – सुरेश ग्यावा

सुरेश ग्यावा तामाङ पूर्वआरजे तथा संरक्षक, प्रदेशीखबर डटकम

८ जेठ ०७७, कुवेत । आरडी क्रियशनका सहनिर्देशक सुरेश ग्यावा तामाङले भारतीय सञ्चारकर्मीहरु पत्रकारिताको संहिताबाहिर गएर ‘टक शो’ कार्यक्रमहरु गरिरहेको बताएका छन् ।

म्यानपावरमार्फत् श्रम र पसिना बेच्न कुवेत पुगेका पूर्व आरजे तथा कुवेतबाट प्रकाशित हुने प्रदेशी खबर डटकमका संरक्षक समेत रहेका तामाङले भारतीय सञ्चारकर्मीहरु अनावश्यकरुपमा चीनलाई समेत मुछेर सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको धर्मबाहिर गएर कार्यक्रम गरिरहेको बताएका हुन् ।

“भारतीय सञ्चारकर्मीहरु ‘एबीसी र फाइव डब्लु वन एच’भन्दा बाहिर गएर कार्यक्रम गरिरहेका छन्,” उनले भने, “त्यतिमात्रै होइन, हाम्रो राष्ट्रियताको विषयमा चीनलाई मुछेर बहसलाई बिकेन्द्रीत गर्ने कुचेष्टा प्रर्दशन गरिरहेका छन् ।”

“भारतीय मिडियाहरुले विभिन्न समयमा भएको सन्धि, सम्झौता, ऐतिहासिक दस्तावेज, तथ्य र प्रमाणहरुका आधार बहस गर्नुभन्दा पनि तथ्यहीन, आधारहीन विषयलाई उछालिरहेका छन्,” तामाङले भने ।

अतिक्रमित नेपाली भूमि फिर्ता लिन नेपाल सरकारले कुटनीतिक पहल लिनुपर्ने भन्दै नेपाली सञ्चारकर्मीहरुले भारतीय मिडियाको अफवाहको खण्डन गर्दै तथ्यका आधारमा राष्ट्रियताको सवाल गम्भीरतापूर्वक उठाउनु पर्नेमा उनले जोड दिए ।

यसैगरी मनिषा कोइरालालाई भारतीय मिडियाले केही दिनदेखि निशना बनाएकोप्रति आक्रोशित हुँदै उनले भने, “श्रम गर्न जो कोही व्यक्ति, कुनै पनि देशमा जान र रहनसक्छ, मनिषाले आफ्नो कला र क्षमता भारतमा गएर बेचेकी छिन् । मैले कुवेतमा श्रम गरेको छु, म मेरो देश र राष्ट्रियताको बारेमा बोलिरहेको छु र बोल्छु । त्यसैले मनिषाजीले आफ्नो देशको बारेमा बोल्दा भारतीय मिडिया आइलाग्नुको कुनै तुक छैन् ।”