भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाले सत्य वचन बोले – राजेन्द्र महतो

१० भदौ ०७४, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले संयुक्त पत्रकार सम्मेलनमा अभिव्यक्तिबारे विरोध भइरहेका बेला   राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले प्रधानमन्त्री देउवाले उनका समकक्षी मोदीसँग सत्य वचन बोलेको बताएका छन् ।

महतोले वर्तमान संविधान त्रूटिपूर्ण रहेको भन्दै मधेसी, थारू, आदिवासीसहित सिंगो मुलुक आन्दोलित रहेकै बेला छिमेकमा गएर देउवाको यो अभिव्यक्ति आउनु स्वाभाविक भएको बताएका हुन् ।

‘दिल्ली मात्र नभई विश्वका जुनसुकै मञ्चमा प्रधानमन्त्रीले यो संविधान अधुरो, त्रूटिपूर्ण छ, सच्याउँदै सर्वस्वीकार्य गराउँछु भन्ने प्रतिबद्धता व्यक्त गर्छु भन्नु राम्रो हो’, महतोले भने, ‘तर देउवाको कथनी र करणीमा फरक छ ।’

महतोले भने, ‘प्रधानमन्त्रीले विश्वमञ्चमा गएर संशोधन पारित नभएसम्म संविधान सर्वस्वीकार्य नहुने भन्नु आफूहरूको संशोधनको माग सही रहेको प्रमाण हो ।’

देउवाको अभिव्यक्ति त्रूटिपूर्ण – नेम्वाङ

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले घरेलु मामिलालाई द्विपक्षीय एजेन्डाका रूपमा राख्नु पूर्णरूपमा गलत रहेको टिप्पणी गरेका छन् ।

नेम्वाङले भने, ‘देउवाको त्यो अभिव्यक्ति त्रूटिपूर्ण छ ।’

प्रधानमन्त्रीको अभिव्यक्तिबारे टीकाटिप्पणी गर्न आवश्यक छैन् – ढुंगाना

पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री देउवाले भारतमा दिएको अभिव्यक्तिबारे टीकाटिप्पणी आवश्यक नरहेको जिकिर गरे ।

ढुंगानाले भने, ‘संशोधन प्रस्ताव पारित गर्न सकिन्छ, फेरि गर्छु भन्ने कुरामा टीका टिप्पणीको ठाउँ हुँदैन ।’

शेखरले प्रधानमन्त्री स्वदेश आएपछि मात्रै बोल्ने

कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री विदेश गएका बेला उहाँका अभिव्यक्तिबारे गरिने जुनसुकै टिप्पणी राम्रो नहुने बताए ।

कोइरालाले भने, ‘यस विषयमा म प्रधानमन्त्री स्वदेश आएपछि मात्रै बोल्छु ।’

तपाइको मत