भारतीय सांसदको १२ महिनाको तलब ३० प्रतिशत र भत्ता कटौती हुने

काठमाडौं । विश्वव्यापीरुपमा कोरोना (कोभिड–१९)ले महामारीको रुप लिएको र भारतमा पनि प्रकोप बढेसँगै प्रधानमन्त्रीसहित सांसदको तलब ३० प्रतिशत कटौती गरिएको छ ।

भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरकाअनुसार भारतको मन्त्रिपरिषद् बैठकले अप्रिल १ देखि लागू हुने गरी सांसदको तलब घटाउने निर्णय गरेको हो ।

उक्त प्रस्ताव पारित भएसँगै सांसदको १२ महिनाको तलब ३० प्रतिशत र भत्ता कटौती हुने बीबीसीले जनाएको छ ।

जावडेकरका अनुसार राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरले पनि आफ्नो इच्छाले तलबको ३० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेका छन् ।

सांसदलाई क्षेत्रीय विकासको लागि दिइँदै आएको कोष एमपीलेड फण्ड पनि दुई वर्षसम्मका लागि निलम्बित गरिएको छ । यो कोषको प्रयोग पनि कोरोना भाइरसविरुद्धको लडाइँमा प्रयोग हुने बताइएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ सय ९३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ । मृतकको संख्या १ सय ९ पुगेको छ ।