२६ फागुन, कञ्चनपुर । भारतीय हस्तक्षेप विरूद्द उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।
कम्मरमा गोली लागेर गम्भीर घाइते भएका स्थानीय गोविन्द गौतमलाई धनगढीस्थित सिपी अस्पतालमा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका छन् ।
आनन्द बजारका स्थानीयबासी एसएसबीका जवानहरुले कुटपिट गरेको विरोधमा उत्रिएपछि नेपाली र भारतीयबीच झडप भएको थियो ।
आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको थियाे ।
बुधबार साँझ एसएसबीका जवानले नेपाली भूमिमा छिरेर नेपालीहरुलाई कुटपिट गरी घाइते बनाएका थिए ।
भारतीय सुरक्षाफौजको ज्यादतीको विरोधमा बिहीबार बिहान ९ बजे स्थानीय नेपालीहरु सीमा बन्द गराएर बिरोधमा उत्रिएका छन् । उनीहरुले भारतीय हस्तक्षेपविरुद्ध नाराबाजीसमेत गरेका छन् ।