११ भदौ ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणले दुई देशका बीच विश्वास अभिवृद्धि गर्न सफल भएको बताएका छन् ।
भारतको पाँचदिने राजकीय भ्रमणबाट सकेर आइतबार साँझ स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो भ्रमण सफल भएको बताएका हुन् ।
प्रधानमन्त्री देउवाको भ्रमणकाक्रममा भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको वार्तापछि नेपाल र भारतबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । र, त्यसमध्ये चार बुँदा भूकम्पपछिको पुनर्निर्माणमा भारतले नेपाललाई दिने भनिएको सहयोगसँग सम्बन्धित छन् ।
दिल्लीमा रहँदा उनले संविधान संशोधनको प्रयास पुन: गर्ने भन्दै दिएको अभिव्यक्तिको सवत्र विरोध भइरहेको छ भने सत्ता साझेदारले समेत आलोचना गरेको छ ।
प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरुसँग क्यामेरा अगाडि यसो भने,
उपस्थित सञ्चारकर्मी साथीहरू,
• भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही २०७४ साल भदौ ७ देखि ११ सम्म भारतको ५ दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केको छु ।
• यस भ्रमणमा हाम्रो मुख्य प्राथमिकता नेपाल र भारत बीच विश्वासको आधारशिलालाई मजबुत बनाउने थियो । साथै, विश्वास र समझदारीमा आधारित सम्बन्धलाई दुबै देश र जनताको हितमा हुने गरी अझ फराकिलो र गहिरो बनाउँदै लैजाने दिशामा सहकार्यका लागि थप पहल गर्ने उद्देश्य रहेको थियो ।
• बाढी तथा डुबानको समस्याको शीघ्र समाधान हुनुपर्ने बारे मैले गम्भीरताका साथ कुरा राखें । सीमाक्षेत्रमा हुने बाढी तथा डुबानको समस्याको दिर्घकालीन समाधानका लागि ठोस पहल गर्ने दिशामा संयुक्त नीरिक्षण लगायत तत्काल उपयुक्त उपाय अपनाउने सहमति भएको छ । मैले यो विषयलाई बिहारका मुख्य मन्त्रीसँगको भेटमा पनि राखेको छु ।
• लामो समयदेखि अल्झेर बसेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन एक महिनाभित्र टुङ्ग्याउने विषयमा सहमति भएको छ। यस आयोजनाबाट नेपालले पाउने लाभलाई सुनिश्चित गर्दै यस प्रकृयालाई टुङ्गोमा पुर्याइने छ ।
• अरुण तेश्रो र माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारले सम्झौता अनुरुपको सहजिकरणको कार्य गरिसकेको सन्दर्भमा ती आयोजनाको फाइनान्सियल क्लोजर थपिएको समयावधि भित्र सम्पन्न गर्नुपर्ने कुरामा नेपालले जोड दिएको छ ।
• धेरै वर्षदेखि कार्यान्वयनमा आउन नसकेको टनकपुर बाँधमा हेड रेगुलेटर एवं नेपाल सीमासम्म भारतले निर्माण गर्नुपर्ने लिङ्क नहरको डीपीआरलाई भारतीय पक्षबाट अन्तिम रुप दिइएको जानकारी प्राप्त भएको छ ।
• ऊर्जा व्यापार सम्झौताको मर्म अनुरुप यसमा अन्तर्निहित सबै पक्षहरुको कार्यान्वयनका लागि उपयुक्त उपायहरु अवलम्वन गर्दै जाने सहमति भएको छ । व्यापार सहजिकरणका लागि यसअघि सहमति भएका व्यापार नाकाहरु धनगढी गौरीफन्टा, गुलरिया मुर्तिया, जटही पिपरौन र पशुपतिनगर सुकियापोखरीको स्तरोन्नति गरी चालु गर्ने सहमति भएको छ ।
• नेपाली कृषि तथा औद्योगिक उत्पादनका बस्तुको भारतीय बजारमा सहज पहुँच बनाउन परीक्षण र प्रमाणीकरण प्रयोगशाला एवं क्वारेन्टाइन सेवा केन्द्र स्थापना गर्न दुबै पक्षले सहकार्य गर्ने सहमति भएको छ । नेपालले उपयोग गरिरहेको पारवहन सुविधालाई थप व्यवस्थित र सहज बनाउन तेश्रो मुलुकबाट नेपाल आउने Bulk Cargo र Railway Service सम्बन्धी Letter of Exchange लाई छिट्टै टुङ्गोमा पुराउने सहमति भएको छ ।
• नेपालमा लगानीको वातावरण बनेकोले भारतको राजनीतिक नेतृत्व र निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गरेको छु । नेपालको पर्यटन क्षेत्रको विकासको सन्दर्भमा पनि महत्वपूर्ण कुराकानी भएको छ ।
• यसका अतिरिक्त भारतको अनुदान सहयोगमा सुदूर पश्चिममा एक प्राविधिक शिक्षालय तथा तनहुँमा जीपी कोइराला श्वास प्रश्वास रोग नियन्त्रण केन्द्रको निर्माण गर्ने बारे सैद्धान्तिक सहमति भएको छ ।
• त्यसैगरी‚ कुशीनगर लुम्बिनी तथा बर्दिबास बीरगंज रेलमार्ग, बीरगञ्ज पथलैया नारायणघाट तथा बुटवल पोखरा सडकलाई द्रुतमार्गका रुपमा स्तरोन्नति गर्ने, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, महाकाली नदीमा पक्की पुलहरु निर्माण गर्ने, बीरगञ्ज रक्सौलमा मैत्री पुलको निर्माण गर्ने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्ने, नेपालमा एक विशेष आर्थिक क्षेत्र निर्माण गर्ने, नयाँ १३२ केभी ट्रान्समिशन लाइन निर्माण गर्ने, बुलवल गोरखपुर तथा लम्की बरेली ट्रान्समिशन लाइन निर्माण गर्ने सम्बन्धमा छलफल अगाडि बढाउने सहमति भएको छ।
• नेपाली नम्बर प्लेटका एलपीजी बुलेटको समस्या समाधान गरिदिन भारतीय प्रधानमन्त्रीलाई अनुरोध गरेको छु। उहाँले विद्यमान कानून अनुसार भारतीय नम्बरका एलपीजी बुलेटले मात्र भारतमा एलपीजी ढुवानी गर्न सक्ने बारेमा अवगत गराउनु भएको छ। तथापि, यस बारेमा दुई पक्षीय कुराकानी जारी राख्न सकिने सुझाव प्राप्त भएको छ ।
• भ्रमणका बखत भारतका प्रधानमन्त्री तथा मैले संयुक्त रुपमा कटैया कुशाहा तथा रक्सौल परवानीपुर ट्रान्समिशन लाइनको उदघाटन गर्यौँ । यसबाट नेपालले तत्काल थप १०० मेगावाट बिजुली प्राप्त गर्न सक्नेछ।
• साथै, आवास, शिक्षा, स्वास्थ्य तथा साँस्कृतिक सम्पदाको पुनर्निर्माणमा भारतले प्रदान गर्ने अनुदान उपयोग गर्ने, नेपाल र भारतका गुणस्तर निकायका बीच एकअर्काको मानकलाई मान्यता दिने, लागु औषधको माग न्यूनिकरण तथा अबैध माग ओसार पसार नियन्त्रण गर्ने, मेची पुलको निर्माण गर्ने तथा नेपाल र भारतका चार्टर्ड एकाउनटेन्टस संस्थाहरुका बीच सहयोग आदानप्रदान गर्ने सम्बन्धी आठवटा समझदारीहरु आदान प्रदान भएका छन् ।
• क्षेत्रीय सहयोगलाई थप प्रबर्द्धन गर्नका निमित्त सार्क र बिमष्टेकलाई प्रभावकारी तुल्याउने सम्बन्धमा समेत समझदारी भएको छ।
• समग्रमा मेरो यस राजकीय भ्रमणका अवसरमा भएको उच्चस्तरीय भेटघाटबाट दुई देशका वीच विश्वासको अभिवृद्धि गर्न मद्दत पुगेको छ। नेपालको सामाजिक आर्थिक विकासको लागि उर्जा, व्यापार, कनेक्टिभिटी, पर्यटन जस्ता महत्वपूर्ण क्षेत्रहरुमा सहयोग अभिवृद्धि हुने भएको छ । साथै, विगतमा सहमतिमा पुगिएका ठूला आयोजनाहरुको शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सकारात्मक वातावरण बनेको छ ।
धन्यवाद ।