१६ फागुन ०७५, राजविराज । सप्तरीको राजविराजमा सम्पन्न २ नम्बर प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगितामा सप्तरीले नौ स्वर्ण पदक हात पारेको छ । सप्तरीले नौ स्वर्ण पदक हात पार्दा सिरहाले चार, धनुषा र बाराले दुई/दुई स्वर्ण पदक जितेको छ ।
नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बिहीबार भएको छनौट खेलमा पुरुषतर्फ ६७ किलो तौल समूहमा धनुषाका अशोककुमार यादव, ७३ किलो तौल समूहमा सप्तरीका मनोजकुमार यादव, ८१ किलो तौल समूहमा बाराका सजारुद्धिन आलम र ८९ किलो तौल समूहमा सप्तरीका रोशनकुमार साहले स्वर्ण पदक जितेका छन ।
यसैगरी ९६ किलो तौल समूहमा धनुषाका उज्जवल कुमार मिश्र, १ सय २ किलो तौल समूहमा सप्तरीका राजेशकुमार झा, १ सय ९ किलो तौल समूहमा सिरहाका प्रताप चौधरी र १ सय ९ भन्दा बढी किलो तौल समूहमा बाराका आदर्शकुमार गुप्ता प्रथम भएका छन ।
बुधबारको खेलमा सप्तरीले ६ र सिरहाले तीन स्वर्ण पदक जितेको थियो ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट ६ जिल्लाका १२ महिलासहित ५८ खेलाडीहरुले प्रतिस्पर्धा गरेको नेपाल भारोत्तोलन संघका सचिव एवं अन्तर्राष्ट्रिय निर्णायक तिलक राउतले बताए ।
आजको खेल आरम्भ हुनु अघि हिजो बुधबार हेलिकप्टर दुर्घटनामा दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीसहित ७ जना मृतकप्रति एक मिनेट मौन धारण गरिएको थियो ।














