काठमाडौं । भीमोदय माध्यमिक विद्यालय चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिइने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसैक्रममा नेपालका डा.कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै रिसर्च अण्डर लिटरल एक्सेस इन्टरनेशनल अवार्डका लागि छनोट गरिएको हो ।
सन् २०११ देखि प्रारम्भ भएको एसियन लिडरशिप अवार्डको १० औं संस्करण यो वर्ष अक्टोवर १५ मा सम्पन्न हुँदैछ ।
दुवईको दुवई मलमा प्रधान कार्यालय रहेको संस्थाले जुलाई २१ का दिन आफ्नो अफिसियल पेजमा नेपालका डा. कँडेललाई अवार्ड विजेता भएको ब्यानर सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा खुसियाली छाएको देखिन्छ ।
डा.कँडेललाई गतवर्ष पीपी प्रसाई फाउन्डेसनले सन् २०१९ को नेपालकै सर्वोकृष्ट शिक्षक र प्रअ अवार्ड प्रदान गरेको थियो ।
त्यसैगरी डा. कँडेललाई कालिका नगरपालिका चितवन र शिक्षक संघ बागमती प्रदेशले पनि यसअघि उत्कृष्ट प्रअको रुपमा सम्मान गरिसकेको छ ।
एसियन लिडरशिप अवार्डको प्रायोजक संस्थाहरु ‘वल्र्ड रिसर्च काउन्सिल, वल्र्ड विजनेस फाउण्डेसन, अमेरिकन कन्जुमर सोसाइटी, आईडीएमएएस लर्निङ लगायत रहेका छन् ।