४ बैशाख ०७४, काठमाडौं । विसं २०७२ बैशाखमा गएको महाभूकम्प पीडितका नाममा बिदेशी दातृ निकायबाट आएका खाद्यान्न, कपडा लगायत राहत सामाग्रीहरु त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको केन्द्रीय गोदाममा कुहिएको तथ्य फेला परेको छ ।
महालेखा परिक्षकको कार्यालयले लेखा परीक्षणका क्रममा यस्तो तथ्य फेला पारेको हो ।
महालेखाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको केन्द्रीय भण्डारमा प्राप्त भएको राहत सामग्रीमध्ये १ सय ४८ कार्टुन औषधि, १सय ६ बोरा कपडा, १ सय ५८ वटा त्रिपाल लगायतका सामानहरु काम नलाग्ने अवस्थामा पुगेको पाइएको छ ।
यस बाहेक विभिन्न जिल्लाको गोदाममा समेत खाद्यान्न, कपडा लगायतका सामाग्री कुहिएका छन् ।
भन्सार कार्यालयले ती सामानहरुको अभिलेख नराखी अव्यवस्थित रुपमा खुला स्थानमा राख्दा काम नलाग्ने स्थितिमा पुगेको महालेखाको प्रतिबेदनमा उल्लेख छ । त्यस्तै केन्द्रीय भण्डारमा ५ हजार केजी चामल, २ हजार केजी दाल र ३ हजार केजी चिनी पूर्णरुपमा क्षति भएको छ ।
यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको केन्द्रीय गोदाममा म्याद नाघेको तथा गुणस्तरहीन १ सय ९२ बक्स मासु, ९ सय ५० पाकेट पीठो, १३ कार्टुन खाद्य सामग्री कुहिएको फेला परेको छ । महालेखाको कार्यालयले ती सामाग्री नष्ट गरेको आफ्नो प्रतिवेदनमा लेखेको छ ।
यस्तै जिल्ला दैवी प्रकोप उद्धार समिति काभ्रेले पनि २ हजार ३ सय ३१ कार्टुन पीठो, २ सय ७ कार्टुन पाउडर दूध म्याद नाघेको कारण नष्ट गरेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाले एक गैरसरकारी संस्थालाई २६ वटा जेनेरेटर, ६ सय ५० वटा मेट्रेस, तेल र चामल गरि ६५० बोरा, चिनी ४ सय ५० पाकेट र पाउडर दूध २ सय २५ पाकेट उपलब्ध गराएको छ ।
यस्तै उद्धार समितिले भूकम्प पीडितका लागि आएको त्रिपाल, म्याट्रेस एक राजनैतिक पार्टीलाई बाँडेको छ । उक्त समितिले राजनीतिक पार्टीलाई २ सय ५४ वटा त्रिपाल, सोही संख्यामा म्याट्रेस उपलब्ध गराएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।
बंगलादेशले राहत स्वरुप उपलब्ध गराएको १० हजार मेटि्रक टन चामलमध्ये अहिलेसम्म जम्मा ३० दशमलव ७ मेटि्रक टनमात्र भुकम्प पिडितलाई वितरण गरिएको पाइएको छ ।
बाँकी चामल राजधानी र विभिन्न जिल्लाका गोदाममा थन्किएको छ । नेपाल खाद्य संस्थानको थापाथली गोदाममा १२.६ मेटि्रकटन चामल भण्डार गरिएको छ । बाँकी उपत्यका बाहिरका अन्य गोदाममा मौज्दात रहेको महालेखाले उल्लेख गरेको छ ।
वि.सं. २०७२ बैशाख १२ गते शनिबार नेपालको प्रमाणिक समय अनुसार ११:५६ मा बार्पाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । यो वि.सं. १९९० को महाभूकम्प पछिको यो सबैभन्दा ठूलो भूकम्प हो ।