एस.बी.थापा मगर
आज तीन खालका मान्छेहरु भेटिए । ती तीनै जनाको सवाल–जवाफ र केही हरफ वाक्यहरु पनि सुनेँ । उनीहरुका भनाई र गराई जोख्ने-तौलने प्रयास गरेँ । तर मैले न त उनीहरुको तौल मापन गर्न सकेँ न त मैले आफैलाई कुन ठाउँमा उभिएर तौलिरहेको छु भनेर ठम्याउन सकेँ ।
मधेश मूलको एक माओवादी नेताले भन्दैथ्यो, “अरुलाई साम्प्रदायिक देख्ने ‘प्रचण्ड’ स्वयम् नै साम्प्रदायिक मान्छे हो ।”
“हामी आफ्नो हक, अधिकारका लागि लडिरहेका छौं तर लड्नु भन्दा बढी डराइरहेका छौं ।” मुस्लिम समुदायको नेताले आफ्नै समुदायबारे चर्चा गर्दैथ्यो ।
यसैगरी हिन्दु नेताले चाहिँ “धर्म ‘निरपेक्ष’ शब्दको अर्थ ‘सैतान’ हो । के हामीले सैतानको राज्य बनाउन चाहेका हौं ?” भनेर प्रश्न गर्दैथ्यो ।
उल्लेखित पहिलो र दोस्रो भनाइ साउन २५ गते दिउँसो एकबजेतिर काठमाडौंको बिजुलीबजारस्थित मातृका यादव नेतृत्वको नेकपा (माओवादी) पार्टी कार्यालयमा आधा दर्जन बढी मान्छेहरु जम्मा भएर छलफल गरिरहेका कुराबाट छुट्ट्याइएको हो । जुन छलफलमा संविधानसभा भाग–२ का प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासदहरु पनि थिए । साथै, तेस्रो भनाई सोही दिन करिब साँझ ५ बजे ललितपुरको लगनखेल चोकमा देखिएको एक भिडबाट लिइएको हो ।
पहिलो प्रसङ्ग :
नेकपा (माओवादी) पार्टी कार्यालयमा साउन २५ गते माओवादी आन्दोलनको समीक्षा भइरहेको थियो । माओवादी आन्दोलनमा लागेका कैयन मधेशी नेताहरुले जनयुद्धका क्रममा भोगेका तितो अनुभव साटासाट गर्दै थिए ।
यसैक्रममा नेकपा (माओवादी)का संयोजक मातृका यादवले भने, “म एक जना पहाडीया कमरेडको घरमा पुग्दा उहाँको आमाले धोती पनि आएको रैछ भन्नुभयो, उहाँ कमरेडले पछि ‘कमरेड’ हो भने पछि आमा चुपचाप बस्नुभयो । साथै, एकपटक एक जना कमरेडको घरमा पुग्दा धोती लगाउने पनि कमरेड हुन्छ र ? भनेको पनि सुनियो ।’ यादवले भन्दै थियो, ‘जनयुद्धको क्रममा मलाई अघोषितरुपमा सस्पेण्ड नै गरियो । वास्तवमा भन्ने हो भने अरुलाई साम्प्रदायिक देख्ने ‘प्रचण्ड’ स्वयम् नै साम्प्रदायिक मान्छे हो ।”
“पाँचौ महाधिवेशनमा चीनसँग विशेष सम्बन्ध हुन्छ भनियो । तर, सवाल त्यस्तो होइन किनभने भूगोल र भाषाको हिसाबले भारतीय उत्पीडित जनता र भूगोल नै सबैभन्दा नजिकका मित्र हुन् । साथै, खतराको हिसाबले भन्नुपर्दा भारतीय शासक नै हाम्रो मुख्य दुश्मन हुन्” मधेशका नेताहरुको गुलामी प्रवृत्तिको विरोध गर्दै मातृकाले भने, “मधेशका नाममा हाल स्थापित मधेशी नेता र पार्टीहरु अहिले पनि पहाडीया शासकको गुलामी नै गरिरहेका छन् । तिनीहरुले मधेशको नाममा व्यक्तिगत सुबिधा सधैंभरि लिइरहे तर मधेशी जनतालाई हक, अधिकार दिने काम कहिल्यै गरेनन् ।”
अर्को एक प्रसङ्गमा संयोजक यादवले भने, ‘प्रचण्डले मधेश र मधेशीलाई विभिजित गरायो, जस्तैः थारुको नाममा ‘थारुहट’ साथै मुस्लिम आदि–आदिको नाममा टुक्रा–टुक्रा पार्ने काम भयो । हामी प्रचण्डलाई स्थापित गर्न खोज्ने, आन्दोलनलाई स्थापित गर्न खोज्ने तर उ चाहिँ मधेशलाई खण्डित र विस्थापित गर्न खोज्ने अनि कसरी हुन्छ ?’
दोस्रो प्रसङ्ग :
यसै बीच एक जना अन्सारी थरका मुस्लिम धर्मावलम्बी तर नेता भने माओवादीका नै थिए । उनी भन्दै थिए, ‘हामी आफ्नो हक, अधिकारका लागि लडिरहेका छौं तर लड्नु भन्दा बढी डराइरहेका छौं किनभने हामी मुस्लिम समुदायले अधिकार माग्दा हामीलाई ‘आईएसआई’ आरोप लाग्छ ।’
‘सडकमा हिन्दु राज्यको माग गर्दै आन्दोलन भइरहेको छ तर उनीहरुलाई आन्दोलन गर्ने छुट किन ? एक पटक सबैले मर्नु पर्दछ, त्यसैले हामी पनि आन्दोलनमा आउँदैछौं ।’ अन्सारीले दिल खोलेर सीमाङ्कनको विषयमा जोडेर भने, ‘सप्तरीदेखि पर्सासम्म एउटा राज्यको सीमाङ्कन त गरियो तर त्यस प्रदेशमा मुस्लिम र दलित समुदायको बाहुल्यता रहेको छ । नेपाललाई हिन्दु राज्य बनाउने रे ! तर मुस्लिम समुदायलाई अधिकार नदिने ? हामी अहिले जे गरिरहेका छौं, ‘गरिरहेका नै छौं’ तर आन्दोलन गरिरहेका छैनौं । २२ जिल्लामा मुस्लिम समुदायको बाहुल्यता छ, हामी मुस्लिम पार्टी बनाउँछौं । लड्ने हो । लड्छौं ।’ उनको कुरा ध्यान दिएर सुनेर बसिरहेका थिए, उपस्थित अन्य माननीय सभासदहरु ।
तेस्रो प्रसङ्ग :
करिब साँझ ५ बजे ललितपुरको लगनखेल चोकमा एउटा गाडी, सो गाडीमा हिन्दु राज्य स्थापना सम्बन्धी लेखिएको व्यानर अनि कोणसभा स्थलमा ‘हिन्दु राज्य कायम गर, गौ हत्या बन्द गर’ लेखिएको मागसहितको दोस्रो व्यानर देखा प¥यो ।
व्यानरको वरपर मान्छेहरु ३०–४० जनाको संख्यामा थिए होलान् । जहाँ प्रहरी पहरा दिई कोणसभाका वक्ताहरुको सम्बोधन गम्भीर बनेर सुनिरहेका थिए ।
सम्बोधनको क्रममा एक जना वक्ता चर्को भन्दा चर्को स्वरमा चिच्याउँदै हिन्दु राज्य चाहिन्छ भन्दै सम्बोधन गर्दै थिए । उनले धर्म निरपेक्ष राज्यको विरोध गर्दै भने, ‘निरपेक्ष’ शब्दको अर्थ ‘सैतान’ हो । के हामीले सैतानको राज्य बनाउन चाहेका हौं ? होइनौ । साथीहरु, हामीले धर्म निरपेक्ष राज्य चाहेका छैनौ । सनातन धर्म हिन्दु राज्य चाहिन्छ, भनेका छौ । यदि हिन्दु राज्य स्थापना भएन भने हाम्रो आन्दोलन रोकिनेवाला छैन् ।’
प्रजातन्त्र होस कि लोकतन्त्र ! गणतन्त्र होस् कि जनगणतन्त्र ! जुनसुकै तन्त्र आए पनि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुपहिचान, बहुसंस्कृतिले सुसज्जित जनता र हावापानी साथै भौगोलिक विविधताले सिङ्गारिएको देश नेपाल दलीय स्वार्थ र व्यक्तिगत लाभ–हानीको आधारमा अनिर्णयको बन्दी बन्नु हुँदैन ।