२४ जेठ ०७७, काठमाडौं । सरकारले भोलि आइतबारदेखि देशभरका मालपोत कार्यालयबाट सेवा सुचारु गर्ने भएको छ ।
शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, “भूमि व्यवस्थापन तथा अभिलेख विभाग”ले सबै मालपोत कार्यालयहरुलाई पत्र पठाउँदै आइतबारदेखि सेवा सुचारु गर्न निर्देशन दिएको हो ।
“मिति २०७७÷०२÷२५ गते आइतबारदेखि कार्यालय प्रमुखले अनिवार्यरुपमा कार्यालयमा उपस्थित भई अन्य आवश्यक कर्मचारीहरूलाई पनि उपस्थित गराई स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्नुहुन तथा सो को जानकारी यस विभागमा गराउनु हुन आदेशानुसार अनुरोध छ” पत्रमा भनिएको छ ।
सरकारले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ०७६ चैत्र ११ गतेदेखि देश नै बन्दाबन्दी गरेपछि दुई महिना भन्दा बढी समयदेखि सबै मालपोत कार्यालयहरुबाट प्रदान गरिने सेवाहरु अवरुद्ध भएको थियो ।