३० जेठ, काठमाडौं । प्रतिनिधि सभाको शनिबार बस्ने बैठकले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित गर्ने कार्यसूची तय भएको छ ।
संघीय संसद प्रतिनिधि सभा छैटौं अधिवेशनको २२औं बैठकको सम्भावित कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।
यस्तै सम्भावित कार्यक्रमअनुसार शनिबार दिउँसो १ बजे बस्ने बैठकमा दफावार छलफलपछि कानुनमन्त्री तुम्बाहाङ्फेले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
हालै सरकारले सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको छ भने सबै राजनीतिक दलहरुले समर्थन जनाएका छन् ।
तर, समाजवादी पार्टीकी सांसद सरिता गिरीले नयाँ नक्साअनुसार संविधानको निशान छाप परिवर्तन गर्न नहुने भन्दै संशोधन प्रस्ताव दर्ता गराएकी छन् । तथापि, समाजवादीका सांसदहरुले विधेयकको पक्षमा मतदान गर्ने बताएका छन् ।
सांसद गिरीले सरकारले ल्याएको नक्साअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालले दाबी गर्न प्रयाप्त प्रमाण नभएको सार्वजनिकरुपमै अभिव्यक्ति दिइरहेकी छन् ।