१५ पुस ०७६, सप्तरी । नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा सप्तरीका प्रमुख तीर्थ स्थलहरुको सरसफाई तथा भारतसँग जोडिएका सीमा नाकाहरुमा स्वागतद्वार, तुल र ब्यानर लगाइएको छ ।
जिल्लामा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई सहजता प्रदान गर्न तथा स्वागत गर्न पहिलो चरणमा धार्मिक स्थलको सरसफाई र नाका क्षेत्रहरुमा स्वागतद्वारा बनाउने काम भएको नेपाल भ्रमण वर्ष २०२० महाअभियान जिल्ला पर्यटन समन्वय समितिले जनाएको छ ।
यस अवसरमा आइतबार जिल्ला पर्यटन समन्वय समितिका संयोजक प्रभाकर यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, भिमदलगणका प्रमुख सेनानी गुप्त बहादुर कुवँर, सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपाने इतिहास विज्ञ डा. पिताम्बर लाल यादव, जनप्रतिनिधि, संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सेना र प्रहरी सम्मिलित टोलीले जिल्ला स्थित छिन्नमस्ता भगवती मन्दिर कंकालिनी मन्दिर, शम्भुनाथ मन्दिर लगायतका एक दर्जन प्रसिद्ध धार्मिक स्थलहरुमा सरसफाई गरेका छन् ।
जिल्लागत सरोकारवालाको बैठकले भ्रमण वर्ष सफल बनाउन विभिन्न धार्मिक तथा पर्यटकिय स्थलमा पुगी सरसफाई र त्यस क्षेत्रमा तुल तथा ब्यानर राख्ने निर्णय बमोजिम पूर्व सन्ध्यामा यस्तो कार्यक्रम गरिएको नेपाल भ्रमण वर्ष २०२० महाअभियान जिल्ला पर्यटन समितिका संयोजक यादवले बताए ।
समितिको अगुवाईमा भ्रमण वर्षको सुरुवाती कार्यक्रम प्रभावकारी ढंगले अघि बढेकोमा प्रसन्नता व्यक्त गर्दै यसलाई भव्य र सभ्य बनाउन सवै पक्षले सहयोग गर्नुपर्ने होटल व्यवसायी संघका अध्यक्ष शैलेश चौधरीको भनाई छ । समितिले भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम बुधबार एक भव्य समारोह बिच स्थानिय गजेन्द्र चोेकमा गर्ने तयारी समेत गरिएको जनाएको छ ।














