११ कार्तिक ०७६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धतालाई दोह¥याएका छन् ।
आइतबार प्रधानमन्त्री ओलीले प्रज्ञा प्रतिष्ठानमा सिस्नोपानी नेपालका हाँस्य कलाकारहरुको व्यंग्यात्मक देउसी सुनिसकेपछि यस्तोे प्रतिक्रिया दिएका हुन् ।
“मैले भनेको छु कि मेरो निष्ठा एउटा स्वच्छ जीवन, पारदर्शी जीवन बिताउने मेरो प्रतिवद्धता हो, निष्ठा हो । भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ” प्रधानमन्त्रीले भने, “आफू नगर्ने, अरुमार्फत् गराउने होइन्, आफू नगर्ने । आफू नसमाउने अरुलाई समाउन लगाउने होइन, त्यसकारण मैले भ्रष्टाचार गर्दिनँ मात्रै भन्या छैन, गर्न पनि दिन्नँ ।”
कलाकारहरूको व्यङ्ग्यप्रति केही असहमति व्यक्त गर्दै उनले सिस्नोपानीलाई अलिअलि बजारको हल्लाले पनि प्रभाव पारेको बताए ।
कलाकारहरुले देउसी भट्याउँदा बालुवाटारको जग्गा भूमाफियाले चिरा पारेको, भ्रष्टाचार बढेको र प्रधानमन्त्रीले शिलान्यास मात्रै गर्दै हिँडेको भन्दै सरकारमाथि व्यङ्ग्य गरेका थिए ।
‘केही पनि काम भएन भन्नुहुन्छ, अनि शिलान्यास गर्दै फुर्सद छैन, धमाधम छ भन्नुहुन्छ, कति काम भइरहेको रहेछ !’ प्रधानमन्त्रीले सम्बोधनकाक्रममा कलाकारहरूको जवाफ फर्काएका थिए । यद्यपि, उनले देउसी टोलीले सरकारलाई सजग गराएको बताएका थिए ।














