नेपालको विषयमा भ्रामक समाचार तथा रिर्पोट प्रसारण गर्ने भारतीय टेलिभिजन च्यानल बन्द

२६ असार ०७७, काठमाडौं । नेपालको विषयमा भ्रामक समाचार तथा रिर्पोट प्रसारण गर्ने भारतीय टेलिभिजन च्यानल बन्द गरिएको छ ।

नेपालविरुद्ध तथ्यहीन र भ्रम सिर्जना गर्ने कपोलकल्पित समाचार रिर्पोट सम्प्रेषण हुन थालेपछि त्यस्ता भारतीय च्यानल बन्द गर्न ग्राहकहरूको आग्रहमा वितरकहरुले बिहीबारदेखि नेपालमा प्रसारण बन्द गरेका हुन् ।

विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरू डिसहोम, मेगा म्याक्स, डीएसएन, मेरो टिभीलगायतले आजतक, जी न्युज, एबीपी न्युजलगायत भारतीय न्युज च्यानलहरूको प्रसारण बन्द गरेका छन् ।

डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शन र केही बिजनेस टेलिभिजनबाहेक नेपालविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने टेलिभिजन च्यानल नेपालमा नदेखिने व्यवस्था गरिएको बताए ।

भारतीय सञ्चार माध्यमले नेपालका बारेमा भ्रमपूूर्ण समाचार सम्प्रेषण गरिरहेकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य पम्फा भुसाल, बागमती प्रदेश सांसद एवम् अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडा,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई लगायतले भारतीय सञ्चार माध्यममा आएको समाचारप्रति आपत्ति जनाएका छन् ।

यस्तै भारतीय सञ्चार माध्यममा आएको समाचारप्रति नेपाल पत्रकार महासंघ साथै प्रेस काउन्सिल नेपाल लगायतले पनि विरोध जनाएका छन् ।

हालै नेपालले राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेसँगै भारतीय मिडियाले निरन्तर कुटनीतिक मर्यादाविपरीत भ्रमपूर्ण समाचार प्रसारण गर्दै आइरहेको छ ।

सरकारले युट्युबलगायत इन्टरनेटका माध्यमबाट आउने नेपालविरोधी सामग्री समेत रोक्न विशेष पहल थाल्नुपर्ने जनस्तरबाट आवाज उठिरहेको छ ।