१० भदौ ०७७, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव शालिकराम काफ्लेले आफूलाई ठूलो दावी गर्ने मजदुर मोर्चाले विगतदेखि नै मजदुरको पक्षमा सिन्को नभाँचेको आरोप लगाएका छन् ।
उपमहासचिव काफ्लेले कोभिड–१९ को संकटका बेलामात्रै नभएर विगतदेखिनै मजदुर मोर्चाले मजदुरपक्षीय काम नगरेको बताएका हुन् ।
“नेपालका मजदुर संगठनको साझा मञ्चकोरुपमा मात्रै नभएर आफूलाई देशकै ठूला संगठन दाबी गर्ने मजदुर मोर्चाले मजदुरको समस्या समाधान आज कोभिड–१९ को बेला मात्रै होइन् बिगतदेखिनै सिन्को समेत भाँच्ने काम गरेन,” उनले भनेका छन्, “बरु उल्टै श्रम ऐनमा मजदुर बिरोधी दफा १४५ लगायत घातक दफाहरु समावेश गराए ।”
यिनीहरु मजदुर संगठनको स्वतन्त्र अस्तित्व समाप्त पार्न र मजदुर संगठनलाई सरकार र मालिकको दलाल संगठनको रुपमा परिणत गराउन लागिपरेको समेत उनले आरोप लगाएका छन् ।
“मजदुर संगठनको स्वतन्त्र अस्तित्व समाप्त पारिदिने अनि मजदुर संगठनलाई सरकार र मालिकको दलाल संगठनकोरुपमा परिणत गरिदिने साथै मजदुरहरुलाई देखाएर दात्री निकायहरुसँग पैसा लिएर खाने यो मन्चको औचित्य छैन,” उपमहासचिव काफ्लेले भने, “यो संगठनले मजदुर बिरोधी काम गर्छ भने यसलाई तुरुन्त बिघटन गरिदिए हुन्छ ।’
उनले संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी) र आइटियुसी-न्याकलाई संकेत गर्दै मजदुर आन्दोलनलाई कमजोर बनाइसकेपछि मजदुरको अधिकार खोस्ने तर मजदुरहरुलाई देखाएर बैदेशिक दात्री निकायहरुसँग पैसा लिएर खाने मञ्चको औचित्य नरहेको बताएका हुन् ।
ती संगठन मूलतः मजदुर आन्दोलनमा साझा धारणा बनाउन र मजदुरका साझा समस्याहरुको समाधान गर्न साथै मजदुरको हकहितमा आन्दोलन गर्न, सरकार र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली मजदुरको समस्या उठान गर्न सजिलो होस् भनेर निर्माण गरिएको तर उल्टै मजदुरविरोधी कार्य गरिरहेको भन्दै उनले बिघटन गरिदिए हुने बताए ।