२ भदौ ०८२, काठमाडौं । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेशवादी राजनीतिक दलहरूकै कारण मधेशले अधिकार पाउन नसकेको बताएका छन् ।
न्यूज एजेन्सी नेपालसँग कुरा गदै उनले दोहोरो चरित्र देखाउने मधेशवादी दलका नेताहरुको कारण मधेशले पूर्ण अधिकार नपाएको बताएका हुन् ।
यही साता लोकतान्त्रिक समाजवादी पार्टी त्यागेर सद्भावना फर्किएका झाले मधेशमा जय मधेश भन्ने र काठमाडौंमा अभिवादन भन्ने राजनीतिक दलका नेताहरू भएकाले मधेश अधिकारहरूबाट संकुचित हुनु परेको बताए ।
‘यहाँ कस्ता पार्टी पनि छन् कि मधेशमा जय मधेश पनि बोल्छन् काठमाडौंमा संघीय अभिवादन भन्छन्,’ उनले भने, ‘प्रधानमन्त्रीसँग के भन्छ गएर उनको खुट्टा पुज्छन् अनि मधेशमा गएर के भन्छ आँप झ¥यो केपी ओलीले भन्छन् । त्यस्तो डबल स्ट्यान्ड, ट्रिपल स्ट्यान्ड पार्टीहरू तपाईं देख्न सक्नुहुन्छ ।’
काठमाडौंमा आएर प्रधानमन्त्रीको पूजा गर्ने र मधेशमा गएर मधेशलाई सखाप पारे भन्ने राजनीतिक दलका नेताहरूको दोहोरो चरित्र मधेशका जनताले बुझ्नुपर्ने बताए ।













