मधेशीको निशानामा कांग्रेसजन ! जनकपुरमा लखेटिए नेता, कार्यकर्ताहरु

Madhesh१५ माघ, जनकपुरधाम । नेपाली कांग्रेसको आसन्न १३औं महाधिवेशनका लागि जनकपुरधाममा भेला गर्न लागेका कांग्रेसी नेता तथा कार्यकर्ताहरु लखेटिएका छन् ।

कांग्रेस नेतृत्वको सरकारले जबर्जस्ती बन्दुकको बलमा मधेश विरोधी संविधान जारी गरेको भन्दै मधेश अधिकार संघर्ष समितिका कार्यकर्ता तथा मधेशी मोर्चाका कार्यकर्ताहरुले कांग्रेसको भेला भाँडेका हुन् ।

जनकपुर आन्दोलनका क्रममा नीतू यादव, संजय चौधरी र दिलीप यादवको हत्या गरेको भन्दै कांग्रेसको कुनै पनि कार्यक्रम गर्न नदिने चेतावनी आन्दोलनरत् मधेशी मोर्चाले दिएको छ ।

बारामा कांग्रेसको अधिवेशन स्थगित

बारा । बारामा नेपाली कांग्रेसको गाविस र नगर वडाको अधिवेशन स्थगित भएको छ । तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनले शुक्रबार गर्ने भनिएको अधिवेशन स्थगित गरिएको हो ।

कांग्रेसले बाराको लागि तोकेको जिल्ला निर्वाचन अधिकृत अरुण पञ्जियार जिल्लामा नआएकाले गाविस र नगर वडाको अधिवेशनबारे छलफल नभएकाले हालका लागि स्थगित भएको पार्टीका जिल्ला अध्यक्ष एवं सांसद राधेचन्द्र यादवले बताए ।

यसैगरी भौगोलिक विकटताका कारण सोलुखुम्बुमा भने आउँदो १८ गते मात्रै अधिवेशन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

यसअघि नेपाली कांग्रेसले आसन्न १३ औँ महाधिवेशनका लागि सबै गाविसमा, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका वडाहरुमा प्रारम्भिक तहको निर्वाचन देशैभर शुक्रबार एकसाथ हुने बताएको थियो ।

तपाइको मत