मधेश बन्दका कारण सप्तरीको सरकारी कार्यलयमा तोडफोड, जनजिवन प्रभावित

११ फागुन, राजविराज ।सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुधबार गरेको मधेश बन्दका कारण जनजिवन प्रभावित बनेको छ ।

सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाका प्रमुख बजार हनुमाननगर, भारदह, शम्भुनाथ, कञ्चनपुर र कठौना लगायत पुर्णरुपमा बन्द रहे भने फाटफुट रुपमा खुलेका पसलहरु पनि मोर्चा कार्यकर्ताले बन्द गराएका थिए । बन्दकर्ताहरुले शैक्षिक संस्था, व्यापारीक प्रतिष्ठान, सरकारी कार्यलय, जिल्लाका प्रमुख बजारहरुबाट चल्ने लामो तथा छोटो दुरीका यातायात ठप्प पारेका थिए भने फाटफुट रुपमा मोटरसाइकल चलेका थिए ।

बिहानै देखि बजारका चौक चौकमा  सरकार विरुद्ध चर्को नाराबाजी गर्दै हिडेका प्रदशनकारीहरुले बन्दको अवज्ञा गर्दै कार्यालय संञ्चालनमा ल्याएको भन्दै राजविराज नगरपालिका कार्यालय र जिल्ला शिक्षा कार्यालयमा ढुङ्गामुढा गर्दा दुवै कार्यालयको झ्यालको सिसाहरु फुटाउनुका साथैे जिल्ला निर्वाचन कार्यालयमा तालावन्दी समेत गरेका थिए भने  पत्रिका, दुध बोक्ने गाडी, एम्बुलेन्स, अधिकारकर्मी र सञ्चारकर्मी चढेको गाडीलाई भने कुनै अवरोध गरेनन् ।

मोर्चाका नेताहरुले ठाउँ ठाउँमा विरोध सभा गर्दै मधेशको माग सम्बोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नदिने र जबरजस्त लाडे कडा प्रतिकार गर्ने चेतावनी दिए ।

तपाइको मत