१५ साउन, काठमाडौं । नेपाल भारत सीमानामा दशगजा मिचेर भारतले एकतर्फी बनाएका बाँधका कारण तराईका बिभिन्न गाउँ डुबानमा परेका छन् । कतै गाउँघर डुबेर पनि चुपचाप सहेर ओत लागेर बसेका छन् त कतै घरबस्ती र सिंगै जिल्ला नै डुबानमा परेपछि भारतले बनाएका बाँध भत्काउन जनता उत्रिएका छन् ।
जनताको हितको आन्दोलन कुन हो र लालु यादवको पटाङगिनीमा हिजो पेडा खाएर तिनै मधेसी जनतालाई डुवाउने, भारतको इसारामा चल्ने को हुन् ? भन्ने यसले छुट्याउन मदत गरेको छ ।
हिजोको कथित मधेस आन्दोलनका लागि लालु यादवका अनुचरहरुले भारतका स्वार्थ पूरा गर्न र मधेसी जनतालाई बाढीमा डुबाउन ५० लाखको मृत्यु बम्पर घोषणा गरेर मर्न आव्हान गरेका थिए । आज ती लालु यादवका अनुचरहरु मागबिहीन आन्दोलन त्यसै सेलाएर सत्ताको हिसावकिताव गर्न काठमाडौंमा भौतारिइरहेका छन् भने मधेसी जनता आफ्नो देशको सीमा रक्षाका लागि भारतीय सुरक्षाबलसँग जुधिरहेका छन् ।

वेब तस्बिर
रक्सौलमा भारतले चलाएको मेसमा मासुभात खाएर नेपालतिर पेट्रोल बम हान्ने र एकतर्फी बाँध बाँधेर मधेसी जनतालाई डुबाउने भारतको स्वार्थका लागि ७ महिना नाकाबन्दी लगाउने उपेन्द्र, महन्थ र राजेन्द्र महतो अनि आफ्नो बस्ती जोगाउन भारतीयसँग भिड्ने देवनारायण यादवमा कत्रो अन्तर छ ?
उपेन्द्र–राजेन्द्र र महन्थहरु बाँध बाँध्ने भारतको स्वार्थका गोटी र देवनारायणहरु नेपालको स्वार्थमा लड्ने देशभक्त नेपाली हुन् भन्ने उजागर हुन पुगेको छ । राजेन्द्र महतोहरु आफूले उठाएका कुनै माग पूरा नगरी कुर्सीको प्यास मेट्न काठमाडौंमा दौडधूप गरिरहेका छन् ।
मधेसी जनता नेपाली हुन्, उनीहरु देशभक्त छन् भन्ने प्रमाण यही हो र मधेसी दलका नेता मधेसी जनता बिरुद्ध भारतले चलाएका गोटी हुन् भन्ने प्रमाण पनि यही हो । मधेसी दलका नेताको कुर्सीको प्यास मेट्न गरिएको आन्दोलनमा जनता सहभागि नभएपछि ५० लाखको प्रलोभन देखाउनु परेको थियो, भारतले गरेको अत्याचार बिरुद्ध जनता आफैं सडकमा आए ।
दिल्लीको सुरक्षित किल्लामा बसेर मधेसी नेपाली र भारतीयबीच रोटीबेटीको सम्बन्धबारे अर्तिबुद्धि दिंदै लेख छपाउनेहरु सप्तरीको घटनाबारे के भन्छन् ? रोटीबेटीको सम्बन्ध भएका मधेसी नेपालीका घर डुवाउने र बेघर बनाउने बीच के रोटीबेटीको सम्बन्ध हुन्छ ?
राजेन्द्र, उपेन्द्र र महन्थहरुले हिजो भन्दै थिए– यो राज्य मधेसीको हुन सकेन । यसको अर्थ उनीहरु मधेसी जनताको मसिहा थिए भन्ने लगाउन खोजेका थिए । तर, आज मधेसका ती कथित मसिहा सत्ताका लागि र्याल चुहाउँदै रत्नपार्कको अनसन तोडेर मधेसी जनतालाई डुबाउने देशका राजदूतको आदेश पालनामा सक्रिय छन् । आफ्नो हित के हो ? आफ्नो अहित के हो राम्रोसँग बुझेका मधेसी जनतालाई सलाम ! जसले भारतीय अत्याचार बिरुद्ध छातिमा रगतको धारा बगाए । चक्रपथमा बिनु पोखरेलको विचार छ ।