
२१ भदौ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूखुसी गरेको भन्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन मस्यौदा समिति गठनबारे आफूहरुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
संविधान संशोधन मस्यौदा समितिको संयोजक प्रस्ताव गरिएका सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण मोर्चाको गठबन्धनमै विवाद देखिएपछि समिति संयोजकमा बस्न अस्वीकार गरेका छन् ।
संघीय गठबन्धनको तर्फबाट सरकारलाई संविधान संशोधन कहाँ-कहाँ र कसरी गर्ने ? भनेर मस्यौदा बनाउन गठित समितिप्रति मधेसी मोर्चा आवद्ध केही दलले असन्तुष्टि जनाएका छन् ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले लक्ष्मणलाल कर्णलाई संयोजक बनाइएको कुरा आफूले मिडियाबाट थाहा पाएको बताएका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका एक नेताकाअनुसार उपेन्द्र यादवले संघीय गठबन्धनको संयोजक आफूलाई दाबी गरे पनि तमलोपा र सद्भावना पार्टीले यादवलाई संयोजक स्वीकार गरेको छैन् ।













