मनाङ र मुस्ताङ बाहेकका जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी सम्पन्न

१५ कार्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइसँगसँगै ढुवानी पनि गरिरहेको छ ।

आयोगकाअनुसार मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ ।

जसमा प्रतिनिधि सभाको मतपत्र ३९ लाख १९ हजार र प्रदेश सभाको मतपत्र ३९ लाख ४३ लाख रहेका छन् ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ । ढुवानी भएका जिल्लाहरूमा कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी, दार्चुला, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया, जाजरकोट, कालिकोट, दैलेख र सुर्खेत रहेका छन् । हुम्ला, जुम्ला, डोल्पा, मुगु र बाजुरा जिल्लाका लागि सुर्खेतमा मतपत्र ढुवानी भएको छ । यी जिल्लामा सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिनेछ ।

आयोगले ढुवानी भएका जिल्लाहरूमा अस्थायी मतदाताहरूका लागि प्रयोग हुने मपतत्रसमेत पठाएको छ । अस्थायी मतदाताको सूचीमा कर्मचारी, सुरक्षाकर्मी, कैदी, वृद्धाश्रमका व्यक्तिलगायतलाई समेटिएको छ । उनीहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभाका लागि मात्र मतदान गर्न पाउने छन् ।
आयोगले १६ गतेसम्ममा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा मतपत्र ढुवानी गरिसक्ने जनाएको छ ।