९ जेठ ०७७, काठमाडौं । अखिल नेपाल जनसाँस्कृतिक महासंघले मनिषा कोइरालाको देशभक्तिपूर्ण अभिव्यक्तिको सम्मान गर्न आग्रह गरेको छ ।
महासंघका महासचिव खेम थपलियाले बिहीबार एक पत्र सार्वजनिक गरी जीवनको उर्बर समय कलाकारिताको माध्यमबाट भारतको समृद्धिमा योगदान पु-याएको भन्दै उनको सम्मान गर्न भनिएको हो ।
“भारतको चलचित्र उद्योगमा आफ्नो कला, श्रम र सीप खन्याइन् । मनिषा कसैको दया मायामा नभएर आफ्नै कला, श्रम र सीप सिङ्गो भारतलाई दिएर बाँचेकी हुन्,” पत्रमा भनिएको छ, “मनिषा कोइरालाले भारतलाई आफ्नो कर्मभूमि बनाइन् र जीवनको उर्बर समय कलाकारिताको माध्यमबाट भारतको समृद्धिमा योगदान पु¥याइन् ।”
भारतीय मिडियाले नेपालविरुद्ध विषवमन गर्दै सामान्य मर्यादाभन्दा बाहिर गएर भारतमा श्रम गर्ने नेपालीमाथि अपमानपूर्ण शब्द प्रयोग गरेकोप्रति कटाक्ष गर्दै महासंघले भनेको छ, “नायिका मनिषा कोइरालामा जिवन्त रहेको देशभक्तिपूर्ण आस्था र निष्ठाको उच्च सम्मान गर्न चाहन्छौँ ।”
नेपाली छोरीले नेपालको माया गर्न नपाउने ? ‘श्रम बेच्न हुन्छ तर स्वाभिमान बेच्नुहुँदैन’ भन्ने मनिषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई झनै स्पष्ट गरेको छ ।
नेपालले हालै कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत भारद्वारा अतिक्रमित नेपाली भू–भागलाई समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि बलिउड चलचित्र उद्योगमा लामो समय योगदान दिँदै आएकी नायिका मनिषा कोइरालाले सार्वजनिक गरेकी देशभक्तिपूर्ण अभिव्यक्तिलाई लिएर भारतका विभिन्न सञ्चार–माध्यमले उनको अभिव्यक्तिविरुद्ध प्रचारबाजी गरिरहेको छ ।