९ चैत ०७६, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हप्तासम्म सबै सीमानाका बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले एकहप्तासम्म चीन र भारत दुबैतर्फका नाका बन्द गरिने जानकारी दिए ।
यस्तै आज बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमणविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा स्थापना गरेको छ ।
सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर स्थापना गर्ने कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको प्रवक्ता खतिवडाले पत्रकार सम्मेलनमा बताए । उनले सो कोषमा सबैले रकम जम्मा गर्न सकिने समेत जनाएको छ ।
मन्त्रिपरिषद बैठकले बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताललाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने निर्णय भएको पनि प्रवक्ता खतिवडाले जानकारी दिए ।
भारतमा कोरोनाको संक्रमण देखिएपछि सीमा नाका बन्द गर्न नेपालले प्रस्ताव राखे पनि भारतले बन्द गर्ने-नगर्ने कुनै जवाफ दिएको थिएन ।
शनिबार बसेको कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि मन्त्रीहरुले भारत सहमत नभए एकतर्फी रुपमै भएपनि सीमा नाका बन्द गर्नुपर्ने बताएका थिए ।