६ साउन ०७७, काठमाडौं । सरकारले भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षा अपनाई छोटो दूरीका यात्रुबाहक बस अन्तरजिल्ला सञ्चालन गर्न सकिने साथै भदौ १ गतेदेखि हवाइ उडान गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ०७६ चैत्र ११ गतेदेखि जारी बन्दाबन्दीलाई खुकुलो पार्दै एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक यात्रुवाहक बस सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सरकारले यसअघि उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर)को हकमा लागू नहुने गरी एउटा जिल्लाभित्रमात्रै स्वास्थ्य सुरक्षा सर्तकता अपनाएर बस सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
यस्तै मन्त्रिपरिषद्को बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय समेत गरेको एकमन्त्रीले बताए ।
यसैगरी सरकारले विद्यार्थी भर्नाका लागि अभिलेखीकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताइएको छ ।