मन्त्रिपरिषद् विस्तारले चुनावमा असर नपर्ने निर्वाचन आयोगको प्रष्टोक्ति

२८ असोज ०७४, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले निर्वाचनको पूर्वसन्ध्यामा ८ मन्त्रीको नियुक्ति गरेपछि निर्वाचन आयोगले के भन्छ ? भन्ने कौतुहलतका बीच आयोगले मन्त्रिपरिषद् विस्तारका कारण निर्वाचनमा प्रतिकूल असर नपर्ने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि सपथ गराउने, नगराउने निर्णय गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले सपथ राष्ट्रपतिको अधिकार क्षेत्रभित्रको विषय भएको बताए ।

‘आज मात्र यो भएको हो र ? यसअघि पनि भएको छ’ राष्ट्रपतिसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त  यादवले भने, ‘सरकार परिर्वतनले हाम्रो स्थानीय तहको निर्वाचनको स्वतन्त्रमा कत्ति पनि असर परेन । अहिले पनि आशा गर्छौं कि तोकिएको मितिमा निर्वाचन होस् ।’

राष्ट्रपति भण्डारीले शनिबार आयुक्तहरुसँग नवनियुक्त मन्त्रीहरुको सपथ गराउन के गर्ने भन्ने विषयमा परामर्श गरेकी थिइन् । छलफलमा आयोग पदाधिकारीहरुले उक्त सवाल राष्ट्रपतिको अधिकार क्षेत्रभित्रको विषय भएको बताएका थिए ।

यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा आयोगले आचारसंहिता विपरीत भन्दै विरोध गरेको आयोगले पछिल्लो पटक आचार संहिता निर्वाचन स्वतन्त्र, स्वच्छ रुपमा सम्पन्न गर्नका लागि भएको बताए ।

तपाइको मत