मन्त्री चुमानद्वारा पहिरोमा परेर ज्यान गुमाउनेका आफन्तलाई राहत रकम प्रदान

२ साउन ०७७, तनहुँ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले तनहुँको विभिन्न स्थानमा पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान गरेका छन् ।

मन्त्री चुमानले संघ र प्रदेश सरकारको तर्फबाट व्यास नगरपालिका, म्याग्दे र ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान गरेका हुन् ।

अविरल वर्षापछि हालै व्यास–९ का माझँफाटकी ७० वर्षीया सुकमाया घर्ती, केशरबहादुर थापाकी ४० वर्षीया श्रीमती कमला, छोरा २४ वर्षीय मनोज थापा र बुहारी २१ वर्षीया अन्जना थापा, व्यास–११ का ५२ वर्षीय पदम बहादुर भुजेल चेपाङ र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडाकी १५ वर्षीया लक्ष्मी विकको पहिरोले पुरिएर मृत्यु भएपछि उनीहरुका परिवारलाई संघ सरकारको तर्फबाट जनही एक लाख र प्रदेश सरकारको तर्फबाट ५० हजारका दरले मृतकका परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

यस्तै तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलेका आम बहादुर थापाका साहिँला छोरा ३० वर्षीय भेषबहादुर थापा, २७ वर्षिया बुहारी नानुमाया थापा, ६ वर्षिया नातिनी छोरी अमिषा थापा, कान्छा छोरा २२ वर्षीय महादेव थापा र कान्छी बुहारी १९ वर्षिया मनिसरा थापाको मृत्यु भएको थियो ।

मन्त्री चुमानले मृतकका आफन्तलाई पनि संघ सरकारको तर्फबाट जनही एक लाख र प्रदेश सरकारको तर्फबाट ५० हजारका दरले राहत रकम हस्तान्तरण गरेको उनका स्वकीय सचिव खुमबहादुर राजुले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले पहिरोमा पुरिएर घाइते भएकाहरुको पोखरामा निःशुल्क उपचार भइरहेको बताएका छन् ।

मतृकका आफन्तलाई राहत रकम प्रदान गर्ने कार्यक्रममा तनहुँकी प्रदेश सांसद आशा कोइराला लगायतको उपस्थिति रहेको थियो ।