५ मंसिर ०७४, काठमाडौं । भरतपुर महानगरपालिका वडा नं २ स्थित वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेको घर पछाडि अज्ञात समूहले राखेको बम निष्क्रिय पारेको छ ।
मंगलबार बिहान मन्त्री पाण्डेको घरको कम्पाउन्डमा रहेको दूधको क्यानमा ग्रिनेट राखेर बनाइएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
मन्त्री पाण्डेको घर र कन्स्ट्रक्सनको बीचमा रहेको नहरको डिलमा बम राखिएको थियो । सेनाले पानी नभएको नहरमा बम झारेर निष्क्रिय पारेको हो । बम निष्क्रिय पार्दा धुवाँ मात्र आएकाले तर्साउनका लागि बम राखिएको हुनसक्ने प्रहरीले बताए ।
पाण्डे चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिस्पर्धामा छन् । उनको घर अगाडि आफ्नै रेडियो कालिका एफएम र टिभी कालिका छ भने पछाडि उहाँको आफ्नै कालिका कन्स्ट्रक्सन छ ।













