८ मंसिर ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई काममा केन्द्रित हुन र जवाफदेही हुन निर्देशन दिएका छन् ।
आइतबार सिंहदरबारमा बसेको आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम एवं बजेटको कार्यन्वयन सम्बन्धी समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले काममा परिणाम नआउने, काम नगर्ने तर प्रतिवेदनमात्र चुस्त बनाउँदा जनताले सेवाको अनुभूति नगर्ने भएकोले परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले तीन दिनसम्म आयोजना गरिएको प्रगति प्रतिवेदन बैठक परिकल्पनाको समीक्षा नभइ कार्यान्वयनको अवस्थाको जानकारी लागि भएको बताएका थिए ।
प्रधानमन्त्री ओलीले बैठक परिकल्पनाको समीक्षा नभई सरकारका नीति, कार्यक्रम र बजेटको हालसम्मको कार्यान्वयनको अवस्था थाहा पाउनका लागि आयोजना गरिएको बताउँदै भने ‘मन्त्रालयहरू केही न केही रचनात्मक हुन खोजेका छन् । कार्यान्वयनको राम्रै सुरूवात भएको छ तर यसलाई तीव्रता दिनु पर्दछ ।’
प्रधानमन्त्री ओलीले सरकारले मितव्ययी नीति लिएकोले हरेक कुरा कम खर्चमा सम्पन्न गर्न निर्देशन दिँदै मन्त्री र सचिवलाई अनावश्यक र रहरका आधारमा विदेश भ्रमण नगर्न निर्देशन दिएका थिए ।













