मर्ज भए, सञ्चार छापाखाना र संघ-संस्था श्रमिक संघको गण्डकी प्रदेश समिति

२१ साउन ०७९, कास्की । अखिल नेपाल सञ्चार छापाखाना तथा प्रकाशन मजदुर संघ गण्डकी प्रदेश समिति र अखिल नेपाल संघ–संस्था श्रमिक संघ, गण्डकी प्रदेश समितिको एकता भेला सम्पन्न भएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश इन्चार्ज एसबी थापामगरको प्रमुख आतिथ्य र अन्टुफ गण्डकीका अध्यक्ष रूद्र गौतमको विशेष आतिथ्यमा भएको दुई श्रमिक संघको एकता भेलाले सुकवीर तामाङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

यस्तै नवगठित समितिको उपाध्यक्ष विष्णु पौडेल, सीता लामिछाने, सचिव गुरु सुवेदी, सहसचिव भक्त श्रेष्ठ, कोषाध्यक्ष अनिता देवकोटा, सदस्यहरू विक्रम नेपाली, रविन सिम्खडा लगायत रहेका छन् ।

उक्त भेलामा महासंघका गण्डकी प्रदेश सचिव भोजराज खत्री, कोषाध्यक्ष टंक पौडेल, सेक्युरिटी मजदुर गण्डकीका अध्यक्ष मंगल लिम्बू, संघ–संस्थाको निवर्तमान उपमहासचिव गुणराज बास्तोला, यातायात मजदुरका गण्डकी प्रदेश अध्यक्ष झंक पौडेल लगायतको आतिथ्य रहेको थियो ।

सो भेलाको अध्यक्षता सञ्चार मजदुरका निवर्तमान सचिव गणेश विकले र सञ्चालन संघ–संस्थाका गण्डकी अध्यक्ष बिपी पौडेलले गरेका थिए ।

कास्की जिल्ला एकता संयोजन आयोजक समिति गठन
यस्तै उक्त भेलाकै बीच अखिल नेपाल सञ्चार छापाखाना तथा प्रकाशन मजदुर संघ कास्की र अखिल नेपाल संघ–संस्था श्रमिक संघ, कास्कीको पहलमा कास्की जिल्ला एकता संयोजन आयोजक समिति गठन गरेको छ ।

नौ सदस्यीय आयोजक समितिको संयोजक केशब परिवार र सहसंयोजक राजेन्द्र नेपाली चुनिएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले प्रकृति मिल्ने पेशागत संघहरूको एकता गर्ने निर्णय गरेको थियोे ।