देवराम यादव/राजविराज । सप्तरीको महादेवा गाउँपालिका – १ स्थित रहेको नर बहादुर थापा जनता माध्यमिक बिद्यालय पकरी गोठ सोनरामा रहेको क्वारेन्टाइन केन्द्रमा एकै घर परिवारका पाँच जना स्वमसेवकमा खटिएको पाइएको छ ।
कोरोना व्यवस्थापन समन्वय समिति संयोजक तथा वडाध्यक्ष जयश्वर किशोर दास र गाउँपालिकाका प्रशासकीय अधिकृत रामलखन यादवको मिलोमतोमा बिना सूचना पकरी क्वारेन्टाइन केन्द्रमा गापाका प्रशासकीय अधिकृत यादवको घर परिवारकै सन्तोष यादव, इन्द्रदेव यादव, कृष्णा कुमार यादव, पिन्टु यादव र सरोज यादव भाइभतिजालाई राखिएको स्थानीय एवम् विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष महेन्द्र यादवले बताए ।
उनका अनुसार क्वारेन्टाइन केन्द्रमा स्वयम्सेवकमा राख्ने बारे कसैसँग सल्लाह, छलफल समेत गरिएको छैन् ।
त्यसैगरी कोरोना व्यवस्थापन समन्वय समितिका सदस्य मनोज यादवले स्वयंसेवकमा राख्ने बारेमा समितिमा छलफलै नगरी राखेको भन्दै आपत्ति जनाएका छन् ।
प्रशासकीय अधिकृत यादवले घर परिवारका पाँच जनालाई क्वारेन्टाइनमा जागिर दिएर पदीय दुरुपयोग गरेको भन्दै स्थानीयले विभिन्न विकास निमार्णको काममा समेत आर्थिक अनियमितता भएको हुनसक्ने भन्दै अधिकृत यादवमाथि छानबिन हुनुपर्ने बताएका छन् ।
महादेवाले बाँडेको राहत सामग्री गुणस्तरहीन
सप्तरीमा लकडाउनका कारण मजदुरी गर्न नपाएपछि दुई छाक खान अप्ठ्यारोमा परेका महादेवा गाउँपालिका –१ का विपन्न, असहाय, दलित परिवारलाई बितरण गरिएको राहत चामल र खाने तेलको गुणस्तहीनसँगै कम तौल भएको स्थानीयहरुले बताएका छन् ।
महादेवा गाउँपालिका वडा नम्बर –१ वडा कार्यालयले हालै राहतस्वरुप प्रतिपरिवार चामल १५ किलो, दाल २ किलो, तेल १ लिटर, नुन एक प्याकेटका दरले बितरण गरेको थियो । तर, वडा कार्यालयबाट बितरण गरिएको चामल र खानेतेल गुणस्तरीय नभएको र सामग्रीहरुको तौलमा समेत कमी रहेको स्थानीयहरुले बताएका हुन् ।
राहतमा पाएको चामलमा थुप्रै मात्रामा ढुङ्गा मिसिएको र भात समेत गन्हाउने स्थानीयले बताए ।
“चामलमा मिसिएको स–साना ढुङ्गा मिसिएको र भात बिग्रिएर खानै नसक्ने रहेको”, महादेवा गाउँपालिका वडा नम्बर –१ बल्थिका महमद हजरतले बताए ।
उनले भने, “एकातिर चामलमा मिसिएको स–साना ढुङ्गाले भात खानै नसक्ने अवस्था छ भने अर्काेतिर भात पनि गन्हाउँछ ।”
वितरीत राहत प्याकिङ्गमा १५ किलो चालम, २ किलो दाल रहेको भनिएपनि कुनै प्याकिङ्गमा १२ किलो चामल र डेढ किलो दाल मात्रै रहेको पाइएको छ ।
“राहत बितरण गर्ने क्रममा प्याकिङ्गमा १५ किलो चालम, २ किलो दाल छ भनिएको थियो, तर घरमा तौल गर्दा १२ किलो मात्रै चामल रहेको पाइएको छ”, स्थानीय हजरतले भने, “मैले मेरो प्याकिङ्गमा मात्रै कम छ, कि भनेर अर्काे छिमेकीको पनि प्याकिङ्ग तौल गर्दा त्यसमा पनि करिब १ किलो चामल कम थियो ।”