१ बैशाख ०८२, काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संगठनलाई गर्न नसक्नुको कारण र हालसम्म गरिएका कार्यको विवरण लिखित रुपमै माग्ने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा निवासमा देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा साथै मुख्यसचिव कृष्णप्रसाद पौडेल समेत सहभागी रहेको बैठकले सात दिनभित्र लिखित जवाफ माग्ने निर्णय गरेको हो ।
मुख्यसचिव पौडेलले हालसम्मको कार्य प्रगतिबारे भ्रातृ संस्थाको महाधिवेशन गराउन पार्टीबाट गठन भएको निर्देशक समिति र सम्बन्धित संस्थाको अध्यक्षले लिखित जवाफ पठाउनु पर्ने जानकारी दिए ।
कांग्रेस लामो समयदेखि महाधिवेशन गर्न नसकेका भ्रतृ संगठन भंग गर्ने तयारीमा छ ।
कांग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । यसबीच पार्टीले उपलब्ध गराएको समयसीमाभित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् ।
कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्न सकेका छैनन् । यस्तै महाधिवेशन गर्न नसक्ने भ्रातृ संगठनहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ समेत रहेका छन् ।