शरद सुवेदी
ललितपुर । अखिल नेपाल यातायात मजदुर संघ केन्द्रीय समितिले आइतबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा एक औपचारिक कार्यक्रमका बीच तीन बुँदे मागपत्र पेश गरेको छ ।
संघका अध्यक्ष सोम तामाङको नेतृत्वमा गएको टोलीले महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनाललाई तीन बुँदे माग पत्र बुझाएका हुन् ।
संघका अध्यक्ष तामाङद्वारा हस्ताक्षरित माग पत्रमा ‘व्यवसायी समिति वा कम्पनी मार्फत् सम्पूर्ण मजदुरहरुलाई नियुक्ति पत्र लागू गर्नु पर्ने, आधारभूत वेतन लागू गर्नु पर्ने साथै वेतनबाट ११ प्रतिशत कट्टा गरी सामाजिक सुरक्षाकोषमा सम्बन्धित मजदुरको नाममा दाखिला गर्नु पर्ने उल्लेख गरिएको छ ।
यातायात मजदुर संघका अध्यक्ष सोम तामाङले आफूहरुको मागपत्रलाई यातायात मजदुरहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने अभियानको रुपमा बुझ्न आम मजदुर तथा व्यवसायीहरुलाई आग्रह गरेका छन् । उनले यातायात क्षेत्र देशको मर्यादित व्यवसायका रुपमा रुपान्तरण हुने विश्वास समेत व्यक्त गरे ।
संघका अध्यक्ष तामाङले २०६८ असोज ३ गते नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल ट्रक ट्याङ्कर परिवाहन व्यवसायी महासंघबीच यातायात मजदुरहरुलाई नियुक्ति पत्र दिने सहमति भएको भन्दै सो सहमति कार्यान्वयन गर्न जोड दिएका थिए ।
माग पत्र बुझेसँगै यातायात मजदुरहरुको माग जायज र सकारात्मक रहेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवहाक अध्यक्ष डोलनाथ खनालले व्यवसायीहरुसँग छलफल गरेर माग पूरा गरिने आश्वासनदिए । साथै, उनले यातायात मजदुरका समस्याहरु मजदुर तथा व्यवसायी बीचको सहकार्य मार्फत् समाधान गरेर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए ।