१ असार ०७४, काठमाडौं । ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सञ्जालका नेतृहरुलाई महिलाहरुको गुणस्तर बृद्धि र अर्थपूर्ण प्रतिनिधित्वबारे सोच्न सुुुुझाएका छन् ।
बिहीबार बिहान लाजिम्पाटमा अन्तरपार्टी महिला सञ्जालका नेताहरुले पेश गरेको ज्ञापन पत्र बुझ्दै प्रचण्डले महिलाहरुको संख्याले मात्र नपुग्ने बताउँदै गुण बृद्धि गर्ने र अर्थपूर्ण प्रतिनिधित्वबारे सोच्न सुुुुझाएका हुन् ।
‘निर्वाचित महिलाहरु आफ्नै योजना र विचारमा चल्न सक्ने गरी, समाजको नेतृत्वमा सफल हुने गरी हामीले समक्ष बनाउनुपर्छ । खाली सहभागिताका लागि सहभागिताले अब अर्थ राख्दैन ।’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘तपाईहरु महिला नेताहरुको स्तरवृद्धि गर्नेतिर लाग्नुस्, यसरी मात्रै महिलाहरुको संख्या र गुण दुवैमा वृद्धि गर्न सकिन्छ ।’
सञ्जालले स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर हरेक नगरपालिका र गाउँपालिका प्रमूख र वडा अध्यक्षमा पचास प्रतिशत महिला उम्मेदवार उठाउनै पर्ने व्यवस्था गर्न र दलितहरुको बस्ती नभएका स्थानमा अन्य समुदायका महिलाहरु उम्मेदवार हुने व्यवस्था गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराए ।