५ फागुन ०७४, महाेत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकतालाई टुंगोमा पुर्याउन दुवै पार्टीभित्र दबाब बढाउनु पर्ने बताएका छन् ।
शनिबार महाेत्तरीको हात्तीलेटमाआयोजित बृहत आमसभा तथा पार्टी प्रवेश विशेष कार्यक्रममा दाहालले पार्टी एकतालाई टुङ्ग्याउन दुवै पार्टीभित्र दबाब बढाउनु पर्ने बताएका हुन् ।
कार्यक्रममा दाहालले निर्वाचनमा झन्डै दुई तिहाई बहुमत आइसकेपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र धम्की दिएर गठबन्धन टुटाउने षड्यन्त्र भइराखेको बताए । उनले कुनै पनि षड्यन्त्रकारीको षड्यन्त्रमा कोही नफस्ने र जनतामा पनि दिग्भ्रमित नहुने बताए ।
अध्यक्ष दाहालले जनता, सिंगै पार्टीका नेता, कार्यकर्ताहरु आफैं अगाडि नआएसम्म मिसन पूरा नहुने भन्दै दाहालले एक/दुई जना नेतामा भर परेर विकास, समृद्धि र समाजवादसम्म पुग्न नसकिने बताए ।
उनले भने, ‘तपाईहरु सतर्क रहनु होला । हामीले नयाँ युग निर्माण गर्ने एउटा ऐतिहासिक मिसन सुरु गरेका छौं । सहिद र अग्रजहरुले देखेका क्रान्तिको सपना पूरा गर्न निरन्तर अघि बढ्नुपर्छ ।’
त्यस्तै, पार्टी परित्याग गरी ६ सय भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा माओावादी केन्द्रमा प्रवेश गरेका राजपा नेपालका केन्द्रीय सदस्य अनिल बस्नेतसहितका नवप्रवेशीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अवीर माला र खाँदा लगाएर स्वागत गरेका थिए ।
दाहालले वाम गठबन्धनप्रति जनताले ठूलो आशा, अपेक्षा गरेको भन्दै त्यसलाई पूर्णता दिन सरकारलाइ पूर्णता दिइ अगाडि बढ्ने उल्लेख गरे ।













