१७ असोज ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश नम्बर १ का इन्चार्ज समेत रहेका गोपाल किरातीले एमालेसँग पार्टी एकता गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावको विरोध गरेका छन् ।

पार्टी सचिवालय सदस्यहरुको सोमबार सम्पन्न बैठकमा एमालेसँग एकताको विपक्षमा उभिने उनी एक्ला नेता देखिए । अध्यक्ष प्रचण्डले त्यससम्बन्धि सातबुँदे प्रस्ताव प्रस्तुत गरेलगत्तै किराती विरोधमा उभिए । पार्टी एकताबारे प्रचण्डले केही समय गरेको ‘बि्रफिङ’मा पनि उनले सहमति जनाएनन् ।
‘म एमालेमा जान्नँ, माओवादी पुनर्गठन गर्छु,’ किरातीले भने, ‘माओवादीलाई एमालेमा विलय गर्ने कुरा स्वीकार्य हुँदैन, म विद्रोह गर्छु ।’
सचिवालय बैठकमा किरातीले एमाले पहिचानविरोधी पार्टी भएको औंल्याएका थिए । ‘पहिचान माओवादीले उठाएको मुद्दा हो, एमालेसँग एकता गरेपछि यो मुद्दा के हुन्छ ?’ उनले अध्यक्ष प्रचण्डलाई प्रश्न गरेका थिए ।













