१६ असार ०७४, काठमाडौं । अछामको रामारोशनमा माओवादी केन्द्रको विजय जुलुसमा ढुंगामुढा भएको छ । घटनामा ३ जना घाइते भएका छन् । तीमध्ये दुई जनालाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ ।
रामारोशन गाउँपालिकाको वडा नम्बर १ मलातिकोटमा वडा अध्यक्षसहित पूरै प्यानल जितेपछि माओवादीले विजय जुलसका क्रममा ढुङ्गा मुढा भएको हो । मतगणना स्थलबाट विजय जुलुस निकालेर गाउँ फर्किने क्रममा एमालेका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेको माओवादीले अाराेप लगाएको छ ।
३ जना घाइते मध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । घाइते दुवैको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न ६ जनालार्इ नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।