माओवादीहरुले २३ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाए

१ फागुन ०७४, काठमाडौं । माओवादीहरुले विभिन्न कार्यक्रम गरी २३ औं जनयुद्ध दिवस मनाएका छन् ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा (बादल) लगायतको उपस्थिति रहेको थियो ।

माओवादी केन्द्रले देशका प्रमुख १० शहरमा वाइसीएलको पहलमा जनयुद्ध दिवस आयोजना गरेको थियो ।

पेरिसडाँडामा आयोजना गरिएको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी पार्टी एकताको सन्दर्भ निकाल्दै एमालेले जनयुद्ध स्वीकार गरेको बताएका थिए ।

यसैगरी मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मंगलबार काठमाडौंमा  संयुक्त कार्यक्रम गरी जनयुद्ध दिवस मनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले जनयुद्धका नायक पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई खलनायकमा परिणत भएको गम्भीर आरोप लगाए ।

उनले वाम गठबन्धन कम्युनिष्ट नै नभएको दावी समेत गरे । अध्यक्ष बैद्यले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वाम गठबन्धनको नाममा पुरानै राज्यसत्तामा विलय हुन पुगेको बताएका थिए ।

 

तपाइको मत