माओवादी केन्द्रको बैठक सम्पन्न: सरकार निर्माण र पार्टी एकता सँगसँगै

३ पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्ने निष्कर्ष निकालेकोे छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले दुबै विषय एकअर्कासँग सम्बन्धित रहेकोले सरकार निर्माण र पार्टी एकता एकैसाथ हुनुपर्ने निष्कर्ष निकालेको  हो ।

बैठकपछि प्रवक्ता पम्फा भुसालले  सरकार निर्माण र  पार्टी एकता प्रक्रिया सँगसँगै हुनुपर्ने निष्कर्ष भएको बताईन् ।  ‘सरकार निर्माण र पार्टी एकता सँगसँगै हुनुपर्छ’, उनले भनिन्, ‘सरकार पहिला बनाउने र पार्टी एकता पछि गर्ने भन्ने हुँदैन ।’

बैठकपछि पत्रकारलार्इ निर्णय सुनाउँदै भुसालले भनिन्, ‘सरकार गठनपछि पार्टी एकता गरौंला भन्ने हुँदैन, सरकार गठन र पार्टी एकता अन्तर सम्बन्धित कुरा हुन् ।’

बैठकले राष्ट्रिय सभाको निर्वाचन राजनीतिक विषय भएको भन्दै  हाल देखिएको विवाद  राजनीतिक सहमतिको आधारमा हल गरिनुपर्नेमा र पार्टी एकतालार्इ जनताले अनुमोदन गरिसकेकाले ढिलार्इ गर्न नहुनेमा माओवादीले जोड दिएको छ ।

चुनावपछि पार्टी एकता गर्नेगरी एमाले र माओवादी केन्द्रले  वाम गठबन्धन  बनाएर चुनावमा होमिएका थिए ।  चुनावमा साझा उम्मेदवार तय गरेका दुई पार्टी  अहिले एकीकरण  र सरकार निर्माणको तयारीमा रहेका छन् ।

देशभर चुनावमा ६०/४० को भागबण्डा गरेकाले समानुपातिकमा पार्टीलार्इ कम मत आएको मा‌ओवादीले जनाएको छ।

चुनावी परिणाम आइसकेपछि बसेको यो माओवादीको पहिलो केन्द्रीय समिति बैठक हो ।

 

तपाइको मत