माओवादी केन्द्रको मजबुत र महत्वपूर्ण शक्ति मजदुर : प्रचण्ड

२६ जेठ ०७९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचन मंसिरभित्रै हुने बताएका छन् ।

पार्टी कार्यालय पेसिडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय सचिवालयको बिस्तारित बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै संघ र प्रदेशको निर्वाचन आगामी मंसिरसम्म सम्पन्न गर्ने गरी तयारी भइरहेको बताएका हुन् ।

बैठकमा प्रशिक्षण मन्तव्य राख्नेक्रममा अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र)को सबैभन्दा मजबुत र महत्वपूर्ण शक्ति अखिल नेपाल ट्रेड युनियन महासंघ भएको बताउँदै संघ र प्रदेशको चुनावमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

स्थानीय निर्वाचन–०७९ को समीक्षासहित बैचारिक तथा राजनीतिक प्रशिक्षण दिएका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न साथै प्रदेश र संघको निर्वाचनमार्फत् प्रतिक्रियावादीहरूलाई पाठ सिकाउन लोकतान्त्रिक–बाम गठबन्धनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।