१५ कार्तिक ०७४, राजविराज । प्रदेश र प्रतिनिधि सभाको निर्वार्चन नजिकिदै जाँदा टिकटको लागि तँछाड–मछाड र एउटा पार्टी छाडि अर्को पार्टीमा प्रवेश गर्ने लहरै चलेको छ ।

यसैक्रममा बुधबार राजपा परित्याग गरी २ जना स्थानीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा शशी यादव र इन्जिनियर सरोजकुमार मण्डल रहेका छन् ।
नवप्रवेशी दुबै जना प्रदेश सभा सदस्य पदका लागि माओवादी केन्द्रको कोटाबाट टिकट पाउने लगभग निश्चित रहेको पार्टी स्रोतले जनाएको छ ।
नवप्रवेशीहरुलाई निवर्तमान सांसदद्वय अशोक कुमार मण्डल (अमर) र मानपुर चौधरी, केन्द्रीय सदस्य महेश यादव लगायतले फुलमाला अविर लगाई पार्टीमा प्रवेश गराएका थिए ।
जनयुद्धकालीन पुराना नेता तथा कार्यकर्ताहरु यतिबेला स्थानीय तहको निर्वाचन हुँदै प्रतिनिधि र प्रदेश सभा निर्वाचनको संघारमा पुग्दा पार्टीभित्र संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता साथै समावेशी तथा समानुपातिकताविरोधीहरुको हालीमुहाली बढेको र आफूहरुको त्याग र समर्पणको अवमूल्यन भएको बताउन थालेका छन् ।
पुराना नेता तथा कार्यकर्ताहरुले माओवादी केन्द्रमा नवप्रवेशी र पैसावालहरुको हाई फाई बढेको भन्दै जनगणतन्त्रका लागि फेरि गोलबद्ध हुनुपर्नेमा जोड दिन समेत थालेका छन् ।













