
१० असोज ०८२, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका सबै नेताहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने भएको छ ।
माओवादी केन्द्रको काठमाडौंका असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने साथै सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको हो ।
दुई दिनसम्म बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति भङ्ग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने, युवाहरुलाई अधिकतम् पार्टीमा सहभागिता गराउने साथै फागुन २१ गते हुने आम निर्वाचन तोकिएकै मितिमा गराउने वातावरण बनाउन पार्टीले पहल लिने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको छ ।
माओवादी केन्द्रले फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनमा संविधान संशोधनमार्फत् कार्यकारी राष्ट्रपतिको व्यवस्था, पूर्णसमानुपातिक निर्वाचन प्रणाली र विज्ञहरुबाट मन्त्री गराउने सवाललाई मुख्य मुद्दा बनाउने भएको छ ।

नेकपा (माओवादी केन्द्र)को सातौँ पूर्ण बैठकका समसामयिक निर्णयहरू:
- केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारीहरू आयोजक समितिको सचिवालयमा रूपान्तरण । विशेष महाधिवेशन मंसिरमा गर्ने ।
- पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने ।
- नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । संस्कार, कार्यशैली र चालचलन सम्बन्धि नीति बनाउने ।
- जेन–जिलाई पार्टीका सबै कमिटीमा अधिकतम् सहभागी गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
- आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
- अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्तावलाई त्यसमै समेट्ने । विशेष महाधिवेशनसम्म छलफल गर्दै जाने ।
- विभिन्न बिचार मिल्ने पार्टीहरूसँग एकता गर्ने ।













