१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबार बिहान राष्ट्रिय भेला बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको सचिवालयको बैठकले कार्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
राष्ट्रिय भेलामा संगठनको आकारलाई व्यवस्थित र चुस्त बनाउने भुसालले जानकारी दिइन् । उनले भेलामा स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक संरचना निर्माण गर्ने र स्थानीय निर्वाचनमा पार्टीको जित तुल्याउने कार्यविधि, संगठन र जिम्मेबारीबारे पनि छलफल हुने बताइन् ।
बैठकले संगठनात्मक विषयमा निर्णय लिन राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । ‘सचिवालयको बैठकमा पार्टी संगठनबारे गम्भीर छलफल भयो । पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित गर्न कार्तिक १० र ११ गते राष्ट्रिय भेलाको आयोजना गर्ने निर्णय भएको छ,’ भुसालले भनिन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नयाँ कार्यदिशा सहितको राजनीतिक प्रतिवेदन पेश गर्ने बताइएको छ । महाधिवेशन आयोजक समिति जम्बो भएको भन्दै चौतर्फी आलोचना भएपछि माओवादी केन्द्रले आयोजक समिति घटाउने तयारी गरेको छ ।
भेलाले जम्बो महाधिवेशन आयोजक समितिलाई कायमै राख्ने वा नयाँ संरचना बनाएर अघि बढ्ने भन्ने विषयमा पनि निर्णय लिनेछ । माओवादी केन्द्रले महाधिवेशनका लागि २५ सय सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ ।