माओवादी केन्द्र दुई नम्बर प्रदेश अन्तर्गतका जिल्ला एकता भेला असोज १९ सम्म सम्पन्न हुने

पर्सा र बारा जिल्ला पार्टीको एकता भेला तोकिएको मितिमा नहुने पक्का !

Maoist centre

२० भदौ, काठमाडौं । प्रधानमन्त्री तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तता र विदेश भ्रमणको कारण देखाउँदै पर्सा र बारा जिल्लाको एकता भेला स्थगित हुने भएको छ ।

भदौ १२ देखि १४ गतेसम्म पार्टी कार्यालय कोटेश्वरमा बसेको नेकपा (माओवादी केन्द्र) दुई नम्बर प्रदेशको सचिवालय बैठकले प्रदेश अन्तर्गतका जिल्ला पार्टीको एकता भेला तथा प्रशिक्षण असोज १९ सम्म सम्पन्न गर्ने  गरी मिति नै तोकेर निर्णय गरेको थियो ।

स्रोतकाअनुसार बारा र पर्सा जिल्लामा नेतृत्व कसले गर्ने भन्ने सवाललाई लिएर आन्तरिक विवाद पनि हल भई नसकेको स्थितिमा प्रधानमन्त्रीको कार्य व्यस्तता र विदेश भ्रमणलाई समेत मध्य नजर गर्दै तत्कालका लागि जिल्ला पार्टी एकता भेला तथा प्रशिक्षण रोकिने निश्चित भएको एक सचिवालय सदस्यले बताएका छन् ।

सचिवालय सदस्य पीएल श्रेष्ठकाअनुसार यस अघि दुई नम्बर प्रदेशका इन्चार्ज मातृका यादवको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न दुई नम्बर प्रदेशको सचिवालय बैठकले पर्सामा भदौ २४ र २५ गते र बारामा भदौ २६ र २७ गते जिल्लाको एकता भेला तथा प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको थियो ।

यसैगरी बैठकले रौतहटमा असोज ६ र ७ गते, सर्लाहीमा असोज ८ र ९ गते, महोत्तरीमा असोज १० र ११ गते, धनुषामा असोज १३ र १४ गते, सिराहामा असोज १६ र १७ गते र सप्तरीमा असोज १८ र १९ गते एकता भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा दुई नम्बर प्रदेशका सचिवालय सदस्य अशोक कुमार मण्डल ‘अमर’काअनुसार प्रदेशको बैठकले प्रदेश अन्तर्गतका जिल्लाको कुनै पनि एकता भेला तथा प्रशिक्षण लगायत कार्यक्रमहरु गर्दा एकता प्रक्रियामा सहभागी सबै माओवादी घटकका पूर्व जिल्ला ईन्चार्ज वा पूर्व जिल्ला संयोजकहरुको उपस्थितिमा मात्र गर्र्ने र सबै घटकको सहभागी बिना गठन हुने कुनै पनि संगठन पार्टीको आधिकारिक नहुने निर्णय गरिएको बताएका छन् ।

माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा दुई नम्बर प्रदेशका सचिवालय सदस्य ‘अमर’ले सप्तरी जिल्लामा पछिल्लो समय केही अराजक व्यक्तिहरुले एकताको भाव र मर्मविपरीत एकपक्षीय रुपमा गठन गरिएका संगठनहरु अवैधानिक रहेको बताएका छन् ।

तपाइको मत