माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

१४ कार्तिक ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् ।

सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता ढुंगेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान ललितपुरकाे सातदाेबाटाेबाट पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा ढुंगेललाई ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ मंसिर २२ मा ढुंगेलमाथि लगाइएको मुद्दा द्वन्द्वकालिन भन्दै आममाफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्वोच्चले हत्याका दोषीलाई आममाफी दिन नहुने भन्दै फैसला कार्यान्वयन गर्न आदेश दिएको थियो ।

ओखलढुंगा पोकली – २ का पूर्वसभासद ढुंगेललाई पक्राउ गर्न सर्वोच्च अदालतले यसअघि पटक–पटक प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो ।

पछिल्ला दिनमा ढुंगेललाई पक्राउ नगरेको भन्दै नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालविरुद्ध सर्वोच्चमा मुद्दा दायर समेत भएको थियो ।

तपाइको मत