माओवादी पार्टी केन्द्र विकेन्द्रीकृत, स्थानीयस्तरमा कतैसँगै, कतै छुट्टाछुट्टै जनयुद्ध दिवस मनाउँदै

२१औं जनयुद्ध दिवसको अवसरमा ललितपुरको लगनखेलमा भित्तेलेखन गर्दै माओवादी कार्यकर्ता । तस्बिर: एस्वी

२१औं जनयुद्ध दिवसको अवसरमा ललितपुरको लगनखेलमा भित्तेलेखन गर्दै माओवादी कार्यकर्ता । तस्बिर: एस्वी

१ फागुन, काठमाडौं । २१ औं जनयुद्ध दिवसको अवसरमा आज फागुन १ गते माओवादी पार्टीहरुले सकेसम्म पार्टी एकता गर्ने यदि त्यो सम्भव नभए पनि संयुक्त कार्यक्रम गरेर आम जनता र कार्यकर्ताहरुलाई एउटा सन्देश दिने भाषण गर्दै आइरहेका थिए तर पार्टी नेताहरुको भाषण र माओवादी एकता दबाब अभियानको दबाब कार्यक्रम कार्यक्रममै सीमित भएको छ । यद्यपि, माओवादी पार्टी केन्द्रहरु विकेन्द्रीकृत भएता पनि शनिबार स्थानीयस्तरमा कतैसँगै कतै छुट्टाछुट्टै जनयुद्ध दिवस मनाइरहेका छन् ।

एकीकृत माओवादीका एक केन्द्रीय सदस्यले हाकाहाकीसँगको कुराकानीका क्रममा जनयुद्धका दिवसको अवसरमा कमसेकम संयुक्त कार्यक्रम गर्ने भनिएको थियो तर प्राविधिक तयारी नपुगेकाले र पार्टी नेताहरुको आ–आफ्नै डम्फु बजानले संयुक्त कार्यक्रम गर्न नसकिएको बताए ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सुरेश आले मगरले फागुन १ गते माओवादीहरु पार्टी एकता हुने भन्ने कुरा हल्ला मात्र भएकाले त्यो पुष्टि भएको बताएका छन् । नेता आले मगरले आम जनता र कार्यकर्ताहरुको चाहना र इच्छा पार्टी एकता होस् भन्ने रहेको र सिद्धान्तनिष्ठ एकता आजको आवश्यकता रहेको बताए ।

‘विचारबाट स्खलित एकताको अर्थ छैन, लहडमा एकता हुने कुरा हुँदैन’ नेता आले मगरले भने– ‘एमाओवादी यही संविधानलाई क्रान्तिकारी संविधान भन्दैछ, हामी त्यो मान्दैनौ । अर्को कुरा हामी आन्दोलनलाई समर्थन गर्छौं, उहाँहरु आन्दोलन दबाउनु हुन्छ । अनि कसरी हुन्छ एकता ?’ तर, नेता आले मगरले आफ्नो पार्टीको निर्णय बृहत छलफल र बहस चलाएर क्रान्तिकारी पार्टीहरु बिच पार्टी एकताको दिशामा ढिलो वा चाँडो जानु पर्ने बताए ।

यसैगरी विप्लब माओवादीका नेता अनुले माओवादी पार्टीहरु बिचको पार्टी एकताको हल्ला सुनियोजित प्रचार मात्रै भएको बताउँदै काठमाडौंको शान्तिवाटिकामा मास प्रर्दशनसहित छुट्टै कार्यक्रम गर्न लागेको बताए ।

एमाओवादीबाट छुटेर नयाँ शक्ति निर्माण अभियानमा लागेका बाबुराम भट्टराई संयोजक रहेको केन्द्रीय परिषदका नेता ब्रजकिशोर यादवले फागुन १ मा  नयाँ शक्तिको त्यस्तो कुनै कार्यक्रम नरहेको बताए ।

त्यस्तै मातृका यादवले नेतृत्वको गरेको माओवादीका केन्द्रीय सदस्य गोपाल ठाकुरले फागुन १ गते नै माओवादी पार्टीहरु एकता हुन्छ भनेर गरिएको योजनाबद्ध प्रचारको पर्दा च्यातिएको बताए । उनले १० वर्षे जनयुद्ध उत्पीडित वर्ग र राष्ट्रको पक्षमा रहेको तर निर्णायक घडीमा आएर नेताहरुले आत्मसुरक्षावाली कायरता प्रर्दशन गरेकाले आज माओवादी आन्दोलन कमजोर भएको बताए ।

‘कांग्रेसले २००७ सालमा मुक्तिसेना विघटन गरे जसरी एमाओवादीका नेतृत्वले जनमुक्ति सेनाको दुःखद विघटन गरायो’ नेता ठाकुरले भने– ‘संघर्ष निरन्तर जारी रहन्छ, उत्पीडित वर्ग र राष्ट्रियता एक ठाउँमा आउनु पर्दछ । नत्र वर्ग संघर्ष ओझेल परेर राष्ट्रिय उत्पीडन विरुद्धको संघर्ष अघि बढ्यो भने समस्या जटिल हुनसक्छ । त्यसकारण जनयुद्ध दिवसको अवसरमा सबैले यसतर्फ ध्यान दिनु अहिलेको आवश्यकता हो ।’

यद्यपि, माओवादी नेताहरुको आ–आफ्नै डम्फू बजान र दन्त रटान भए पनि बुटवलमा भने प्रचण्ड नेतृत्वको एकीकृत माओवादी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माआवादी र मातृका यादव नेतृत्वको नेकपा (माओवादी)ले संयुक्त, कार्यक्रम गरेर २१औं जनयुद्ध दिवस मनाएको छ ।

तपाइको मत