माओवादी फुटको औचित्य कसैले पनि पुष्टि गर्न सकेनन् – प्रचण्ड

जनतालाई दोष दिएर नेता–कार्यकर्ताले उन्मुक्ति नपाउने प्रचण्डको भनाई

४ साउन ०७४, ललितपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले अपेक्षित जीत हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेता–कार्यकर्ताले उन्मुक्ति नपाउने बताएका छन् ।

बुधबार बिहान ललितपुरको थासीखेलमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

‘देश माओवादीकै एजेण्डामा चलिरहेको छ । माओवादी नेतृत्वको सरकारले इतिहासमै सबैभन्दा राम्रो काम पनि गर्यो । तर, निर्वाचनमा हामीले अपेक्षित सफलता हासिल गर्न सकेनौं’ प्रचण्डले भने, ‘त्यसको दोष जनतालाई दिएर हामीले उन्मुक्ति पाउँदैनौं । हामीले जनतालाई किन बुझाउन सकेनौं ? किन राम्रो संगठन बनाउन सकेनौं ? किन जनताको विश्वास जित्न सकेनौं ? त्यतातिर गम्भीर समीक्षा गरेर मात्र नयाँ पार्टी बन्छ ।’

कसैले पनि माओवादी फुटको औचित्य पुष्टि गर्न सकेनन्

क्रान्तिकारीहरुको एकता अनिवार्य भएकोमा जोड दिँदै प्रचण्डले माओवादीबाट फुटेर जानेहरुले फुटको औचित्य पुष्टि गर्न नसकेको बताए ।

उनले भने, ‘साथीहरु माओवादी आन्दोलनबाट विभाजित भएर जानुभयो । तर, कसैले पनि फुटको औचित्य पुष्टि गर्न सक्नुभएन । जनताले वैद्य, विप्लव, बाबुरामको नेतृत्वमा रहेका सबैलाई तिमीहरुसँग एकताको बिकल्पै छैन भन्ने सन्देश दिएर पठाएका छन् । अब सबै माओवादी एक हुनुको बिकल्प छैन ।’

माओवादी केन्द्रको सचिवालय बैठकबाट क्रान्तिकारी माओवादीहरुको एकताका लागि विशेष प्रस्ताव पारित गरेर एकताका लागि अपील गरिने भन्दै प्रचण्डले भने, ‘यसले एकताको वातावरण बनाउँछ भन्ने मेरो विश्वास छ । संगठन बिना चुनाव पनि जितिन्न, आर्थिक समृद्धिको नेतृत्व गर्न पनि सकिँदैन । अनि, राजनीतिक संघर्षको नेतृत्व पनि गर्न सकिन्नँ । त्यसैले संगठन, संगठन र फेरि पनि संगठनको नारासहित जनतामा जानुको कुनै बिकल्प छैन ।’

तपाइको मत