८ पुस ०७४, काठमाडौं । माओवादी केन्द्रका जनवर्गीय संगठनका नेताहरुले एमालेसँगको पार्टी एकतालाई छिटो सार्थक निष्कर्षमा पुर्याउन पहल गर्ने निर्णय गरेका छन् ।
शनिबार नयाँबानेश्वरमा बसेको जनवर्गीय संगठनका अध्यक्ष तथा युवा नेताहरुको संयुक्त बैठकले पार्टी एकताको विपक्षमा समेत आवाज उठिरहेका बेला पार्टी एकतालाई सम्मानजनक र सार्थक बनाउन पहल गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी युवा नेता हिमाल शर्माले एमाले र माओवादीका युवा नेताहरुको संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिदै निर्वाचनबाट वाम गठबन्धनलाई जनताले अनुमोदन गरिसकेकाले अब छिट्टै एकतालाई सार्थक निष्कर्षमा पुर्याउनुको विकल्प नरहेको बताए ।
त्यस्तै, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एकता अघि पर्याप्त छलफल र बहस आवश्यक रहेकाले दुबै पार्टीका नेतृत्वलाई त्यसै अनुसार सुझाव दिइने बताउँदै दुबै पार्टीको इतिहास, संगठनात्मक पक्ष, विधिपद्दति र संस्कारलाई समेत मिलाएर लैजानु पर्ने बताए ।
छलफलमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’, जनसाँस्कृतिक महासंघका अध्यक्ष सरल सहयात्री, अखिल नेपाल खेलकुद महासंघको अध्यक्ष शिवप्रसाद कोइराला ‘ज्वाला’ तथा युवा नेताहरु हिमाल शर्मा, रामदीप आचार्य, रमेश मल्ल, नरेन्द्र न्यौपानेलगायत सहभागी थिए ।













