१९ फागुन ०७४, काठमाडौं । प्रा.डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए फागुन २९ गतेदेखि अनसन बस्ने चेतावनी दिएका छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीबाट राजीनामा नआए महाअभियोग लगाउनुपर्ने र चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्नु पर्ने माग राख्दै आफ्नो माग पूरा नभए पुन अनसन बस्ने चेतावनी दिएका हुन् ।
उनले न्यायालयको छवि धमिलिन र न्याय सम्पादनमा भ्रष्टाचार संस्थागत भएर निरपेक्ष दण्डहीनता आउने अवस्था रोक्न संसद्ले प्रधानन्यायाधीशमाथि महाभियोग लगाएर हटाउनुको विकल्प नरहेको दाबी गर्दै शनिबार विज्ञप्ति जारी गरेका छन् ।
डा. केसीले सञ्चारमाध्यममाथि सेन्सरसिप लगाएर पराजुलीले आफ्नो गलत कार्यहरु छोप्ने प्रयासमा लागिरहेको दाबी गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा यस्तो गर्नु लाजमर्दो भएको बताए ।
चिकित्सा शिक्षा अध्यादेशलाई समेत छिट्टै ऐनमा परिणत गर्नु पर्ने बताउँदै डा.केसीले चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहराइएकाहरुलाई तुरुन्त सिफारिसअनुसार कारबाही गर्नुपर्ने माग समेत अघि सारेका छन् ।













